खेलकुद

मेचीनगरमा दोस्रो वडाध्यक्ष कप जिल्ला स्तरीय भलिबल बिहीबारदेखि

झापा । झापाको मेचीनगर–१० स्थित धुलाबारीमा दोस्रो वडाध्यक्ष कप जिल्ला स्तरीय भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ। मेचीनगर–१० वडा खेलकुद विकास समितिको आयोजनामा स्थानीय नन्दा कोरिडोरमा वैशाख १७ देखि १९ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ।

प्रतियोगितामा जिल्लाका ८ टोली सहभागी हुने आयोजकले जनाएको छ। सहभागी टोलीमा बिर्तामोड नगरपालिका, कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका, भद्रपुर नगरपालिका, हल्दीबारी गाउँपालिका तथा मेचीनगर नगरपालिकाका आयोजकसहित दुई टोली रहनेछन्।
आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। गत वर्ष नगरस्तरीय वडाध्यक्ष कप सफलतापूर्वक सम्पन्न गरेपछि यस वर्ष प्रतियोगितालाई जिल्ला स्तरमा विस्तार गरिएको समितिले जनाएको छ।

मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले भलिबल खेलको विकास, खेलाडीलाई प्रोत्साहन तथा युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले वडा कार्यालयले बजेट विनियोजन गरी प्रतियोगिता आयोजना गरिएको बताए। उनका अनुसार वडाले भलिबलसँगै अन्य खेलकुदलाई पनि प्राथमिकतामा राख्दै आएको छ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछ।

वडा सदस्य तथा खेलकुद विकास समिति संयोजक सोम ओझाका अनुसार प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई नगद १ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।

प्रतियोगिताभर उत्कृष्ट सेटर, उत्कृष्ट लिबेरो, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर र ‘म्यान अफ द सिरिज’ लाई समान नगद २–२ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।

प्रतियोगिताको उद्घाटन मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।