संघ \संस्था स्वास्थ्य

आम्दा मेची अस्पतालमा एसीसहितको शवगृह बन्ने

मेचीनगर । धुलाबारीस्थित आम्दा मेची अस्पतालमा बातानुकुलित(एसी) सहितको शवगृह बन्ने भएको छ ।
मेचीनगर–१२ का स्थानीय समाजसेवी राजन चिमरियाको आर्थिक सहयोगमा आम्दा मेची अस्पतालमा एसीसहितको शवगृह बन्ने भएको हो ।

बिहीबार आम्दा मेची अस्पताल विकास समितिका अध्यक्ष एवम् मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको पहिलो वैठकले शवगृह सञ्चालन गर्न कार्यविधि बनाउन ४ जना सदस्य रहने गरि कार्यदल गठन गरिएको छ ।

कार्यविधि बनाउन नगरपालिका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, अस्पतालका प्रशासकीय अधिकृत किरण निरौला, मेची उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत गोपाल वस्नेत र शवगृह दाता परिवारका तर्फबाट योगेन्द्र चिमरियाको कार्यदल गठन गरिएको छ ।

बैठकमा उपप्रमुख मीना पोखरेल उप्रेती, मेची उद्योग बाणिज्य संघका अध्यक्ष एवम् समितिका उपाध्यक्ष खेमराज प्रसाईं, ७ नम्बरका वडाध्यक्ष प्रलादमणि ओली, सदस्य सचिव मेडिकल सुपरिटेन्डेन्ट डा.पोशण रमण त्रिपाठी, मेची उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष ऋषिराज तिम्सिना, वरिष्ठ उपाध्यक्ष आनन्द खड्का, महासचिव ध्रुब बनाल, कार्यर्कारी अधिकृत गोपाल वस्नेत, अस्पतालका प्रशासकीय अधिकृत किरण निरौला, शवगृहका दाता परिवार राजन चिमरिया, साउन मेचे लगायतको उपस्थिति रहेको थियोे ।

कार्यदलले कार्यविधि तयार पारेपछि अस्पताल सञ्चालक समिति र शवगृह निर्माण दाता परिवारबीच सम्झौता हुनेछ । रितिक डेरीका सञ्चालक समेत रहेका समाजसेवी राजन चिमरियाले गतवर्ष मेरो जन्मदिनमा मेचीनगरमा जुनसुकै ठाउँमा शवगृह बनाउने घोषणा गरे अनुसार यस अस्पतालमा बनाउने सहमति भएको बताए ।

उनले साउन महिनाभित्र करिव ९ लाख रूपैयाँ खर्चमा अस्पतालको पछाडिपट्टि ४ वटा शव राख्न मिल्ने गरीको एसीसहितको शवगृह बनाइने जानकारी दिए ।