मेचीनगर । झापाको काँकरभिट्टामा शनिबारदेखि सुरु भएको प्रथम दीपज्योति काँकरभिट्टा च्यालेन्ज कप फुटबल प्रतियोगितामा एपीएफ पकलीले विजयी सुरुआत गरेको छ।
काँकरभिट्टा युवा क्लबको आयोजनामा भएको उद्घाटन खेलमा एपीएफले धरान एन्फा एकेडेमीलाई १–० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो।
एपीएफको जितमा श्याम मुर्मुले खेलको ६०औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो। उत्कृष्ट प्रदर्शन गरेका मुर्मु ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद दुई हजार पाँच सय रुपैयाँ प्राप्त गरे।

प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीले गरिन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खेलकुदले अनुशासन, स्वास्थ्य र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने तथा युवालाई लागूऔषध दुव्र्यसनबाट टाढा राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले मेचीनगर नगरपालिकाले खेलकुद विकासलाई निरन्तर प्राथमिकतामा राख्दै आएको पनि उल्लेख गरिन्।
काँकरभिट्टा खेलमैदानमा साउन १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजकसहित नेपालका ६ र भारतका २ गरी आठ टोली सहभागी छन्। विजेताले नगद १ लाख १ हजार १ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार ५ सय ५० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले, महासचिव शेरबहादुर बस्नेत, स्थानीय जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। आयोजक क्लबका अध्यक्ष अनिल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव निमा लामा र सदस्य रोजी तामाङले गरेका थिए।

