झापा । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रमा कार्यरत कर्मचारीमाथि कुटपिट भएको भन्दै कर्मचारीहरूले दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन्। माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन्।
धुलाबारी वितरण केन्द्रका अनुसार साउन २८ गते बिहान करिब ११ः३० बजे कार्यालयमा ग्राहकलाई सेवा दिइरहेका कर्मचारी सोमराज उप्रेतीमाथि शेखर ओली नाम गरेका व्यक्तिले विद्युत चुहावटसम्बन्धी फाइलको विषयलाई लिएर कार्यालयमै हप्काइदप्काई गर्दै मुक्का प्रहार गरेका थिए। उक्त घटनामा उप्रेतीको आँखा तथा टाउकोमा चोट लागेको जनाइएको छ।

घटनाबारे छलफल गर्न इलाका प्रहरी कार्यालय धुलाबारी पुगेका उप्रेती र कार्यालयका अन्य कर्मचारीमाथि प्रहरी कार्यालयको गेटमै मेचीनगर–११ का शम्भू राजवंशीसहित १४–१५ जनाको समूहले कुटपिट गरेको कर्मचारीहरूको आरोप छ। कुटपिटबाट उप्रेतीको टाउको, आँखा, छाती र गर्दनमा चोट लागेको जनाइएको छ। घाइते उप्रेतीको झापास्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ।
विद्युत कर्मचारीमाथि भएको घटनामा संलग्न सबैको पहिचान गरी पक्राउ तथा दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गर्दै कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय झापामा ज्ञापनपत्र बुझाउने तयारी गरेका छन्।

माग सम्बोधन नभए साउन ३० र ३१ गते कर्मचारीहरूले कालोपट्टी बाँधेर काम गर्ने, त्यसपछि भदौ १ गते बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म र भदौ २ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कालोपट्टी बाँधेर जिल्ला प्रशासन कार्यालय झापामा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेका छन्।
त्यसपछि पनि माग सम्बोधन नभए अत्यावश्यक सेवामा कार्यरत कर्मचारीसमेत काम गर्न असमर्थ हुने र विद्युत सेवा अवरुद्ध (ब्ल्याकआउट) हुन सक्ने चेतावनी उनीहरूले दिएका छन्। त्यसबाट ग्राहकमा पर्न सक्ने असुविधाको जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुख तथा सरोकारवाला निकायले लिनुपर्ने कर्मचारीहरूको भनाइ छ।
कर्मचारीहरूले कार्यस्थलमा सुरक्षाको सुनिश्चितता र दोषीमाथि कानुनी कारबाही नभएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने बताएका छन्।

