झापा । मेचीनगर–१ स्थित मनसा नागदेवी ४९ धारा धाम तथा हिले सिमसार क्षेत्रमा नागपञ्चमीको अवसरमा आयोजित त्रिदिवसीय धार्मिक मेला सम्पन्न भएको छ ।
साउन ३० गतेदेखि भदौ १ गतेसम्म सञ्चालन भएको मेलामा मेचीनगरसहित झापाका विभिन्न स्थान तथा भारतका सीमावर्ती क्षेत्रबाट समेत ठूलो संख्यामा भक्तजन सहभागी भएका थिए । नागदेवीको दर्शन, पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको बिहानैदेखि घुइँचो लागेको आयोजकले जनाएको छ ।

मेलाको समापन कार्यक्रममा कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा मेचीनगर–१ का वडाध्यक्ष राजकुमार राई, मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्की, मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, प्रोफेसर हेमराज कार्की, कृष्णथुम्की धाम विकास समितिका अध्यक्ष हिक्मत क्षेत्रीलगायत स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो ।
समापन कार्यक्रममा प्रमुख अतिथि तामाङले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको मनसा नागदेवी ४९ धारा धामलाई व्यवस्थित रूपमा विकास गर्न स्थानीय समुदाय, जनप्रतिनिधि र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताए । उनले धामको धार्मिक महत्वसँगै यस क्षेत्रको प्राकृतिक तथा पर्यटकीय सम्भावनालाई जोडेर विकास गर्न सके स्थानीय अर्थतन्त्रमा समेत योगदान पुग्ने धारणा राखे ।

स्थानीयवासीका अनुसार नागपञ्चमीका अवसरमा हरेक वर्ष लाग्दै आएको मेलाले धार्मिक आस्था र सामाजिक एकताको सन्देश दिनुका साथै यस क्षेत्रको पहिचान विस्तार गर्न सहयोग पुर्याउँदै आएको छ । मेलामा भारतका विभिन्न स्थानबाट समेत भक्तजन आउने भएकाले आगामी दिनमा धामको पूर्वाधार, सरसफाइ र व्यवस्थापनलाई थप व्यवस्थित बनाउनुपर्ने स्थानीयको भनाइ छ ।
मनसा नागदेवी ४९ धारा धाम तथा हिले सिमसार क्षेत्र धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका दृष्टिले महत्वपूर्ण क्षेत्रका रूपमा चिनिँदै आएको छ । स्थानीयस्तरमा हरेक वर्ष नागपञ्चमीका अवसरमा आयोजना हुने धार्मिक मेलाले यस क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने सम्भावना समेत देखाएको छ ।

समापन कार्यक्रम मनसा नागदेवी ४९ धारा धाम तथा हिले सिमसार क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन समितिका सचिव डिकेन्द्र थापाले गरेका थिए ।

