मेचीनगर । मेची नेत्रालय काँकरभिट्टा अन्तरविद्यालय लिग कम नकआउट फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत आइतबार भएका दुई खेलमा काँकरभिट्टा माध्यमिक विद्यालय र तारापुञ्ज इङ्लिस बोर्डिङ स्कुल विजयी भएका छन् ।
काँकरभिट्टा खेलमैदानमा भएको पहिलो खेलमा काँकरभिट्टा माविले गंगा मेमोरियल स्कुललाई ४–१ गोल अन्तरले पराजित गर्यो । आक्रामक खेल प्रस्तुत गरेको काँकरभिट्टा माविले चार गोल गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
उक्त खेलमा काँकरभिट्टा माविका जर्सी नम्बर ९ का अर्जुन तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए ।
यसैगरी आइतबारकै दोस्रो खेलमा तारापुञ्ज इङ्लिस बोर्डिङ स्कुलले लोफोफरस इङ्लिस बोर्डिङ स्कुललाई ३–० गोल अन्तरले पराजित गर्यो । तारापुञ्जले खेलभर आफ्नो दबदबा कायम राख्दै तीन गोल गरेको थियो ।
दोस्रो खेलमा तारापुञ्ज इङ्लिस बोर्डिङ स्कुलका जर्सी नम्बर ७ का सरोज हेमरन ‘म्यान अफ द म्याच’ घोषित भए ।
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा मेचीनगरका विभिन्न ९ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ तथा उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओलीले जानकारी दिए ।

