झापा । झापाको मेचीनगरमा रहेको पाँचतारे होटल मेची क्राउनले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २६ लाख रुपैयाँ सहयोग गरेको छ।
पाँचतारे होटलका अध्यक्ष बलराम साकोटाले पर्यटनमन्त्री खड्गप्रसाद पौडेल ‘गणेश’लाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। विपद् बाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले होटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको जनाएको छ।
बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको कठिन अवस्थामा राहत र पुनःस्थापनाका लागि सहयोग आवश्यक भइरहेका बेला निजी क्षेत्रबाट गरिएको उक्त योगदानले पीडित परिवारलाई राहत पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पूर्वी नेपालमा पर्यटक तथा व्यवसायिक गतिविधिका लागि परिचित मेची क्राउन विशेषगरी भारतीय पर्यटकमाझ लोकप्रिय छ।

