राजनीति

गगन थापाले नेपाली काँग्रेस पार्टीको मात्रै होइन देशकै नेतृत्व गर्छन्– विश्वप्रकाश शर्मा

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन निर्धारित समयमै हुने दाबी गरेका छन्। महाधिवेशनको मिति परिवर्तन हुने चर्चा निराधार भएको भन्दै उनले नेता–कार्यकर्तालाई त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।

बुधबार गृहजिल्ला झापाको धुलाबारीमा आयोजित कांग्रेसको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै शर्माले गत चैत ११ मै महाधिवेशनको मिति तय भइसकेकाले अब त्यसमा हेरफेरको सम्भावना नरहेको बताएका हुन्।
‘पार्टी विधान र संविधानमा स्पष्ट व्यवस्था भएको महाधिवेशन कसैले चाहँदैमा परिवर्तन हुँदैन,’ उनले भने, ‘महाधिवेशन तोकिएकै समयमा हुन्छ। असोजमै महाधिवेशन हुन्छ।’

उनले असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा सक्रिय रूपमा सहभागी हुन नेता–कार्यकर्तालाई आग्रह गरे। महाधिवेशनको प्रारम्भिक चरणका रूपमा हुने वडा अधिवेशनबाटै प्रतिनिधि छनोट हुने भएकाले पार्टीको संगठनात्मक प्रक्रियामा सबै तहका नेता–कार्यकर्ताको सहभागिता आवश्यक रहेको उनको भनाइ थियो।
शर्माले आगामी महाधिवेशनमा महामन्त्री गगन थापालाई पार्टी सभापति बनाउने आफ्नो समूहको तयारी रहेको समेत खुलाए। थापालाई पार्टी सभापति हुँदै भावी प्रधानमन्त्री बनाउने अभियानमा एकजुट हुन उनले कांग्रेस नेता–कार्यकर्तालाई आह्वान गरे।

‘पार्टी सभापति गगन थापा नै बन्नुहुन्छ, प्रधानमन्त्री पनि उहाँलाई नै बनाएर देश बनाउनुपर्छ,’ शर्माले भने।
महाधिवेशनको तयारीका क्रममा आफू नेताहरूको घरघरमा भेटघाट गर्दै समर्थन जुटाउने पक्षमा नरहेको उनले स्पष्ट पारे। महाधिवेशनपछि भने सबै नेतासँग संवाद र सहकार्य गरेर पार्टीलाई अघि बढाउने उनले बताए। कोही नेता छुट्न नहुने र विगतमा टाढिएका वा छुटेका नेताहरूलाई समेत समेटेर कांग्रेसलाई अघि बढाउनुपर्ने शर्माको धारणा थियो।
उनले कांग्रेसमा लामो समयदेखि अभ्यासमा रहेको ‘एकपटक केन्द्रमा पुगेपछि सधैं महाधिवेशन प्रतिनिधि हुने’ प्रवृत्ति अन्त्य भएको बताए। अब केन्द्रका प्रभावशाली नेताले समेत आफ्नो वडाबाटै प्रतिनिधि छनोटको प्रक्रिया पूरा गर्नुपर्ने उनको भनाइ थियो।

‘यो नियम गगन थापालाई पनि लाग्छ, विश्वप्रकाशलाई पनि लाग्छ। मैले पनि मेचीनगर–९ बाटै प्रतिनिधि हुनुपर्छ,’ शर्माले भने। शर्माले पार्टीको महाधिवेशनलाई भड्किलो र खर्चिलो नबनाउने पनि बताए। भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै उनले विपत्तिको यस्तो अवस्थामा कांग्रेसको महाधिवेशन सादगीपूर्ण रूपमा गर्नुपर्ने धारणा राखे। महाधिवेशनका लागि आवश्यक हललगायतका भौतिक तयारी गरिए पनि अनावश्यक तडकभडक नगर्ने उनले बताए।

क्षेत्रीय भेलामा कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापा, केन्द्रीय सदस्य उमा शिवाकोटी, प्रदेश सदस्य विमल आचार्य, झापा सभापति देउकुमार थेबे, उपसभापति केशवराज पाण्डे र क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीलगायतले पार्टीको आगामी महाधिवेशन र संगठन सुदृढीकरणबारे धारणा राखेका थिए।

कार्यक्रममा सहभागी कांग्रेस नेताहरूले पार्टीको आधिकारिकताका विषयमा कुनै विवाद नरहेको दाबी गरे। निर्वाचन आयोग तथा सर्वोच्च अदालतबाट भएका निर्णयपछि कांग्रेसको आधिकारिकताका विषयमा थप अन्योल सिर्जना गर्न आवश्यक नरहेको उनीहरूको भनाइ थियो।