संघ \संस्था

दर्ताबिनै सञ्चालनमा रहेको मनकामना अस्पतालमा शिल

मेचीनगर । झापाको मेचीनगर–१३ चारआलीमा आवश्यक स्वीकृति र दर्ताबिनै सञ्चालन हुँदै आएको मनकामना अस्पताललाई मेचीनगर नगरपालिकाले मंगलबार शिल गरेको छ। अनुगमनका क्रममा अस्पतालमा म्याद नाघेका औषधिसमेत भेटिएपछि नगरपालिकाले अस्पताल बन्द गरी शिल गरेको हो।

नगरपालिकाको बजार अनुगमन टोलीले अस्पताल सञ्चालनका लागि आवश्यक स्वीकृति नलिएको, दर्ता तथा नवीकरण नगरेको र आवश्यक कागजात पूरा नगरी स्वास्थ्य संस्था सञ्चालन गरेको पाइएको जनाएको छ। अनुगमनका क्रममा म्याद नाघेका औषधिसमेत फेला परेको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले बताइन्।

उनका अनुसार नगरपालिकाले यसअघि नै अस्पताललाई आवश्यक प्रक्रिया पूरा गरी दर्ता गरेर मात्र सञ्चालन गर्न दुई पटक लिखित रूपमा सचेत गराएको थियो। २०८२ असोज ३० र कात्तिक ३० गते पत्र पठाएर अस्पताल दर्ता तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको भए पनि त्यसको पालना नभएपछि कारबाही गरिएको उनले बताइन्।

नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्कीका अनुसार अस्पतालका सञ्चालक डा. दिलिपकुमार यादवले आवश्यक कागजात पूरा नगरी तथा दर्ताबिनै अस्पताल सञ्चालन गर्दै आएका थिए। अनुगमनका क्रममा म्याद नाघेका औषधि प्रयोगका लागि राखिएकोसमेत भेटिएपछि स्थानीय, जनप्रतिनिधि र अस्पतालका कर्मचारीको रोहवरमा अस्पताल शिल गरिएको उनले बताए।

नगरपालिकाले स्वास्थ्य संस्थाको दर्ता, सञ्चालन अनुमति, नवीकरण तथा औषधिको म्यादलगायत विषयमा अनुगमन गरेको हो। अनुगमन टोलीमा नगरपालिकाका खाद्य विश्लेषक कार्की, स्वास्थ्य शाखा प्रमुख सापकोटा, नगर अस्पतालका चिकित्सक डा. प्रकाशचन्द्र गछदार, पशु चिकित्सक डा. सुशान्त भट्टराई, वडा नं. १३ का कार्यवाहक अध्यक्ष रविन्द्र न्यौपाने, कार्यपालिका सदस्य अमित खम्बु, इलाका प्रहरी कार्यालय चारआलीका प्रमुख सई किरण राई, प्रहरी हवलदार कल्पना भण्डारी तथा नगर प्रहरी सहभागी थिए।

मेचीनगरको प्रशासनिक कमाण्ड सम्हालेका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले कानुन विपरीत वा नियम उलंघन गरि नगरभित्र सञ्चालनमा रहेका जुनसुकै क्षेत्र कसैलाई पनि छुट नहुने बताए ।

त्यस्तै उपभोक्ता जागरण अभियान नेपालका प्रतिनिधि, स्वास्थ्यकर्मीलगायतको सहभागिता रहेको नगरपालिकाले जनाएको छ।