मेचीनगर । आख्यानकार नारायण ढकालको चर्चित कथा ‘इरफान अली’मा आधारित नाटक इरफान अली निसाफको अनन्त तिर्खा काँकरभिट्टामा मञ्चन भइरहेको छ। परिवर्तन थिएटरले निर्माण तथा प्रस्तुति गरेको नाटकले पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने जमर्को गरेको छ ।

नाटकले जेलभित्र हुने धार्मिक विभेद, नेपाली भाषा नजान्ने कैदीमाथि हुने अत्याचार, चौकिदारद्वारा गरिने दमन र शक्तिशाली व्यक्तिहरूले हत्यारासम्मलाई आममाफी दिने विकृत प्रथालाई समेत उजागर गर्दै न्याय, विभेद र सामाजिक यथार्थका प्रश्नलाई रंगमञ्चमार्फत उठाएको छ।
काँकरभिट्टा स्थित सामुदायिक हलमा असोज १५ देखि २० गतेसम्म नाटक मञ्चन भइरहेको हो। दर्शकका लागि हरेक दिन दिउँसो २ बजे र साँझ ५ बजे गरी दुई शो सञ्चालन भइरहेका छन्।
कथाकार ढकालको ‘इरफान अली’ कथालाई रंगमञ्चमा ल्याउने क्रममा नाट्य रूपान्तरण विनोदविक्रम केसीले गरेका हुन्। नाटकको निर्देशन कविता नेपालले गरेकी छन्।

निर्देशक नेपालका अनुसार साहित्यिक कृतिलाई रंगमञ्चमा रूपान्तरण गर्नु केवल कथा प्रस्तुत गर्नु नभई त्यसमा अन्तर्निहित सामाजिक सवाललाई दर्शकसँग प्रत्यक्ष संवाद गराउनु पनि हो।
“नाटकमार्फत एउटा व्यक्तिको कथा मात्रै भन्न खोजेका छैनौं। त्यस कथाभित्र लुकेका सामाजिक प्रश्न र न्यायको खोजीलाई दर्शकसामु ल्याउने प्रयास गरेका छौं,” नेपालले भनिन्, “रंगमञ्चले दर्शकलाई केही समय मनोरञ्जन दिनेमात्र होइन, आफू वरिपरिको समाजलाई नयाँ ढंगले हेर्ने अवसर पनि दिनुपर्छ भन्ने हाम्रो उद्देश्य हो।”
परिवर्तन थिएटरले स्थानीयस्तरमा रंगमञ्चको अभ्यास र दर्शकको पहुँच विस्तार गर्ने उद्देश्यले नाटक मञ्चन गरेको जनाएको छ। साहित्यिक आख्यानलाई रंगमञ्चमा ल्याएर स्थानीय दर्शकसँग जोड्ने प्रयासका रूपमा पनि ‘निसाफको अनन्त तिर्खा’लाई लिइएको छ।
काँकरभिट्टामा भइरहेको नियमित मञ्चनमा विद्यार्थी, साहित्यप्रेमी, कलाकार तथा स्थानीय दर्शकको सहभागिता बढ्दै गएको आयोजकको भनाइ छ।
परिवर्तन थिएटरले यश अघि पनि मेचीनगरसहित झापालगायत पुर्वका विभिन्न स्थानमा सामाजिक चरित्रका नाटकहरू गरिसकेको छ ।

