आयुष्मान निरौला
केहि समयको विश्राम पश्चात आज फेरी बिल गेट्सले दिएको माइक्रोसफ्ट वर्डको खाली पानामा किबोर्डका अक्षरहरुले पोत्ने जमर्को गर्दैछु । एआईको इन्स्ट्यान्ट कन्टेन्ट डेलिभरीको जमानामा यस्ता लामा लामा शब्दगुच्छा पट्यारलाग्दा हुन्छन् होला भनेर अचेल खासै लेख्ने जाँगर पनि चल्दैन । तथापी करिब ७ वर्षको समय स्थानीय सरकारको रोजगारीमा बिताएर निस्किएपछी आफुले अनुभव गरेका र बुझेका कुराहरु भित्रै गुम्स्याएर बसिरहन पनि मन लागेन । यसो भन्दै गर्दा म पाठकज्यूहरुलाई के पूर्वजानकारी गराउन चाहन्छु भने, यो मेरो लेख कुनै एक स्थानीय तहमा मात्र केन्द्रित नभई मेरा अध्ययन रुची र बुझाइका आधारमा समग्र परिदृश्यलाई मध्यनजर गरी तयार पारिएको हो । अतस् यो कुनैपनि प्रकारको आग्रह वा पूर्वाग्रहबाट प्रेरित भएर लेखिएको होइन । साथै, यहाँहरुबाट कुनै त्रुटी वा आगामी दिनमा परिष्करणयोग्य सुझावहरु स्वतन्त्र रुपमा प्राप्त हुन आएमा म आभारी हुनेछु र मलाई थप उर्जा समेत प्राप्त हुनेछ ।
श्रीगणेश्
भर्खरै केहि दिनअघि देशले दशौँ संविधान दिवस मनाएको छ । २०७२ सालमा जारी नेपालको संविधानले राज्यशक्तिको विकेन्द्रीकरण गर्दै एकात्मक राज्यप्रणालीलाई तीन तहको सरकार सहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको इन्द्रेणी संरचनामा रूपान्तरण गरेको पनि एक दशक पुगिसकेको छ । यस रूपान्तरणको सबैभन्दा सुन्दर र सबल पक्ष भनेको स्थानीय तहलाई केवल प्रशासकीय एकाईमा मात्र सिमित नराखी स्वायत्त स्थानीय सरकारका रूपमा स्थापित गर्नु हो । संविधानको अनुसूची ८ मा २२ वटा एकल र अनुसूची ९ मा १५ वटा साझा अधिकारसहित स्थानीय सरकारलाई आफ्नै घरदैलोमा नागरिकलाई सेवा प्रवाह, विकास निर्माण र न्याय सम्पादन गर्ने गहन जिम्मेवारी सुम्पिएको छ । सिंहदरबारको अधिकार गाउँ(गाउँमा भन्ने संवैधानिक मर्मलाई सार्थकता दिन स्थानीय तहमा पनि सङ्घीय ढाँचा जस्तै व्यवस्थापिका ९गाउँरनगर सभा०, कार्यपालिका र न्यायपालिका ९न्यायिक समिति० को परिकल्पना गरिएको छ । तर, विगत एक दशकको अभ्यासलाई हेर्दा कागजी रूपमा कोरिएको शक्ति पृथकीकरण र सन्तुलनको सुन्दर खाका व्यवहारमा गम्भीर विरोधाभास र संरचनात्मक त्रुटिहरूको शिकार भएको देखिन्छ ।
शक्ति पृथकीकरण र स्वार्थको द्वन्द्व
शक्ति पृथकीकरणको सिद्धान्तको कसीमा हेर्दा स्थानीय तहमा अधिकारको अस्वभाविक मिश्रण सबैभन्दा ठूलो चुनौती बनेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले उपप्रमुख वा उपाध्यक्षलाई एकैसाथ तीनवटा भिन्न प्रकृतिका अङ्गमा निर्णायक भूमिका दिएको छ । उहाँहरू न्यायिक समितिको संयोजक ९न्यायाधीश०, कार्यपालिकाको बजेट तर्जुमा एवं अनुगमन समितिको संयोजक ९कार्यकारी० र गाउँरनगर सभाको सदस्य ९विधायिका० को रूपमा रहनुभएको छ । यसले गर्दा “कोही पनि आफ्नै मुद्दामा आफैँ न्यायाधीश हुन सक्दैन” भन्ने नैसर्गिक न्यायको सिद्धान्तको ठाडो उल्लङ्घन भएको छ । कार्यपालिकामा बसेर आफैँ बजेट बनाउने, सोही बजेटको विकास आयोजना अनुगमन गर्ने र तिनै आयोजनाबाट सिर्जित विवादमा न्यायिक समितिमा बसेर न्याय निरूपण गर्ने कार्यले गम्भीर स्वार्थको द्वन्द्व सिर्जना गरेको छ । त्यसैगरी, सङ्घीय व्यवस्थामा प्रधानमन्त्रीले संसदको अध्यक्षता गर्न पाउँदैनन् तर स्थानीय तहमा कार्यपालिका प्रमुख ९मेयररअध्यक्ष० नै विधायिका ९सभा० को सभामुख सरह हुने व्यवस्थाले विधायिकाको स्वतन्त्रता र निगरानी गर्ने क्षमतालाई लगभग समाप्त पारेको छ ।
विधायिकी निष्क्रियता र संसदीय समितिको अवस्था
यसको प्रत्यक्ष असर स्थानीय विधायिका र संसदीय समितिहरूको कार्यसम्पादनमा परेको छ । गाउँ तथा नगर सभाहरू वर्षमा केवल दुई पटक कर्मकाण्डी रूपमा मात्र बस्ने गर्छन् । सङ्घीय संसदमा जस्तै बजेट र विधेयकमाथि सुक्ष्म अध्ययन गर्न स्थानीय तहमा पनि विधायन समिति, सार्वजनिक लेखा समिति जस्ता विषयगत समितिहरूको व्यवस्था त छ, तर व्यवहारमा यी समितिहरू लगभग पूर्ण रुपमा पङ्गु र निस्क्रिय छन् भन्दा अतिशयोक्ती हुँदैन । अध्ययनशीलता, विज्ञता र स्रोतसाधनको अभावमा यी समितिहरूले कार्यपालिकाका निर्णय, बजेट तथा योजना तर्जुमा, योजना कार्यान्वयनको समग्रता र खरिद प्रक्रियामाथि निगरानी राख्न सकेका छैनन् । प्रायजसो अवस्थामा बजेट तथा नीति कार्यक्रमहरू दफावार छलफल बिना नै केहि थान सिमित टाउकाको तजबिजमा कर्मकाण्डी प्रक्रिया मार्फत पारित हुने परिपाटी हावी छ ।
न्यायिक तथा मेलमिलाप समितिको प्रभावकारिता र निष्पक्षता
न्याय सम्पादनको पाटोमा पनि स्थानीय न्यायिक समिति तथा वडागत मेलमिलाप समितिहरूले अपेक्षित सफलता हासिल गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐनको दफा ४७ बमोजिम १३ वटा विषयमा निरूपण गर्ने र ११ वटा विषयमा मिलापत्र गराउने अधिकार पाएका न्यायीक समिति र वाडागत मेलमिलाप समिति दलीय आधारमा निर्वाचित प्रतिनिधिहरूबाट सञ्चालित हुने हुँदा निस्पक्ष न्यायको अपेक्षा गर्नु आफैँमा चुनौतीपूर्ण बनेको छ । कानुनी ज्ञान, कार्यविधिगत तालिम, निष्पक्षता र तटस्थताको अभावमा यी समितिहरू राजनीतिक पूर्वाग्रह र भोटको हिसाबकिताबबाट प्रभावित हुने गरेका गुनासाहरू धेरैजसो ठाउँहरुबाट सुनिने गरेका छन् ।
प्रशासनिक र वित्तीय स्वायत्तताको संकट
प्रशासनिक र वित्तीय स्वायत्तताको अभावले स्थानीय तहलाई “सरकार” भन्दा पनि सङ्घीय सरकारको पत्राचार कार्यान्वयन गर्ने “प्रशासनिक एजेन्ट” मा सिमित गरिदिएको छ । सङ्घीय संसदबाट लामो समयसम्म सङ्घीय निजामती सेवा ऐन पारित हुन नसक्दा ९हालै संसदीय समितिबाट अघि बढे तापनि पूर्ण कार्यान्वयन नहुँदा० स्थानीय तहहरूले आफ्नै स्वायत्त कर्मचारी संयन्त्र निर्माण गर्न पाएका छैनन् । प्रमुख प्रशासकीय अधिकृतहरूको छिटो(छिटो सरुवा हुने परिपाटीले प्रशासनिक अस्थिरता बढाएको छ । यसैगरी, आन्तरिक राजस्वको हिस्सा न्यून हुनु र अधिकतम हिस्सा सङ्घीय र प्रादेशिक अनुदानमा निर्भर हुनुले स्थानीय तहको वित्तीय पङ्गुतालाई उजागर गर्दछ ।
सार्वजनिक सुनुवाइ र तेस्रो पक्ष मूल्याङ्कनका विकृति
स्थानीय सुशासन र पारदर्शिताका महत्त्वपूर्ण औजार मानिने सार्वजनिक सुनुवाइ र तेस्रो पक्ष मूल्याङ्कन हालका दिनमा केवल औपचारिकता र कर्मकाण्डमा मात्र सिमित भएका छन् । अधिकांश स्थानीय तहमा सार्वजनिक सुनुवाइ कार्यक्रमहरू लक्षित वर्ग, सीमान्तकृत समुदाय र वास्तविक लाभग्राहीको सहभागिताबिना नै आफ्ना राजनीतिक कार्यकर्ता र आसेपासेलाई मात्र राखेर सम्पन्न गर्ने परिपाटी छ । नेतृत्वलाई आलोचना वा प्रश्न उठ्ने डरले यस्ता कार्यक्रमको पर्याप्त पूर्वजानकारी नदिने र उठेका गुनासोहरूको अभिलेखीकरण तथा सम्बोधन नगर्ने प्रवृत्ति व्यापक छ ।
त्यसैगरी, विकास निर्माणका आयोजनाहरूको गुणस्तर मापन गर्न गरिने तेस्रो पक्ष मूल्याङ्कन पनि स्वतन्त्र र निष्पक्ष हुन सकेको छैन । प्राविधिक कन्सल्टेन्सी र मूल्याङ्कनकर्ताहरू स्थानीय तहकै पदाधिकारी वा कर्मचारीहरूको मिलेमतोमा छनोट गरिने हुँदा कमसल र गुणस्तरहीन कामले पनि सहजै क्लियरेन्स पाउने र भुक्तानी लिने गरेका छन् । यसले गर्दा अनुगमन संयन्त्रमाथि नै गम्भीर प्रश्नचिन्ह खडा भएको छ ।
सुशासन र वित्तीय अनुशासनका चुनौतीहरू
यिनै संरचनात्मक र प्रशासनिक कमजोरीका कारण स्थानीय तहमा बेरुजु, वित्तीय अनुशासनहीनता र डोजरे विकास जस्ता वेथितिहरू मौलाएका छन् । महालेखा परीक्षकको प्रतिवेदनले औँल्याए अनुसार असारे विकास, बिल भर्पाई लगायत आवश्यक कागजात बिनाको खर्च र प्रतिस्पर्धा बिनाको खरिद प्रक्रियाले वित्तीय अराजकता निम्त्याएको छ । उपभोक्ता समितिका नाममा दलीय कार्यकर्ता र बिचौलियाहरूको दबदबा बढ्नुले जनसहभागितामूलक योजना तर्जुमाको प्रक्रियालाई औपचारिकतामा मात्र सिमित गरिदिएको छ ।
अबको बाटो
यस अवस्थामा सुधार ल्याई स्थानीय तहलाई साँचो अर्थमा सुशासित र जनउत्तरदायी सरकारका रूपमा स्थापित गर्न केही ठोस र तथ्यपरक कदमहरू चाल्न ढिला भइसकेको छ ।
उपप्रमुखरउपाध्यक्षको बहुभूमिका र स्वार्थको द्वन्द्वलाई सम्बोधन गरिनुपर्छ । मेलमिलाप तथा न्यायिक समितिको विज्ञता, निष्पक्षता र तटस्थतालाई सुनिश्चित गरिनुपर्छ । स्थानीय नगररगाउँ सभा अन्तर्गतका विषयगत समितिहरूलाई सक्रिय र साधनस्रोत सम्पन्न बनाई आफ्नो क्षेत्राधिकारमा स्वायत्त र स्वतन्त्र ढंगले कार्य गर्नसक्ने गरी चलायमान बनाउनुपर्छ । लेखा समितिको नेतृत्व प्रतिपक्ष दललाई दिने लोकतान्त्रिक अभ्यासको थालनी गरिनुपर्छ । सङ्घीय निजामती सेवा ऐन तत्काल जारी गरी स्थानीय तहको प्रशासनिक अस्थिरता अन्त्य गरिनुपर्छ ।
सार्वजनिक सुनुवाइलाई पालिकाको केन्द्रमा मात्र नभई टोल वा वडा स्तरमा पुर्याई व्यापक नागरिक सहभागिता सुनिश्चित गरिनुपर्छ । नागरिकका गुनासोहरूलाई गुनासो व्यवस्थापन प्रणालीमा अनिवार्य दर्ता गरी सम्बोधन गरिनुपर्छ र यस्ता सुनुवाइ कार्यक्रमहरूको विद्युतीय माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने अभ्यास थाल्नुपर्छ । त्यस्तै, तेस्रो पक्ष मूल्याङ्कनलाई साँच्चै निष्पक्ष र पारदर्शी बनाउन स्थानीय तह आफैँले कन्सल्टेन्सी वा प्राविधिक छान्ने परिपाटी अन्त्य गरिनुपर्छ । यसको सट्टा प्रदेश वा सङ्घीय स्तरबाट तयार पारेको स्वतन्त्र विशेषज्ञहरूको रोस्टरबाट प्रणालीगत वा स्वचालित रूपमा मूल्याङ्कनकर्ता खटाउने कानुनी व्यवस्था कडाइका साथ लागू गरिनुपर्छ ।
वित्तीय पारदर्शिता कायम गर्न सुत्र ९क्ग्त्च्ब्० प्रणालीको पूर्ण कार्यान्वयन, मध्यकालीन खर्च संरचनाको अनिवार्यतासँगै वार्षिक बजेट र आवधिक योजनासँग तादात्म्यता कायम गरिनुपर्छ । त्यसैगरी, खरिद प्रक्रियालाई कानुनी छिद्रहरुको प्रयोग गरी प्रतिस्पर्धालाई सिमित गर्ने परिपाटीको अन्त्य गरी पारदर्शी र प्रतिस्पर्धात्मक खरिद प्रक्रियालाई कडाइका साथ लागू गरिनुपर्छ ।
निष्कर्ष
नेपालको सङ्घीयताको सफलता स्थानीय सरकारको प्रभावकारितामा अडेको छ । त्यसैले, स्थानीय सरकारलाई सङ्घीयताको प्रयोगशालाको रुपमा पनि हेरिने गरिएको छ । नागरिकले दैनिक जीवनमा प्रत्यक्ष अनुभूत गर्ने प्रथम सरकार नै स्थानीय सरकार हो । कागजी रूपमा रहेको शक्ति पृथकीकरण र सन्तुलनको व्यवस्थालाई जीवित अभ्यासमा रूपान्तरण गर्न राजनीतिक नेतृत्वको इच्छाशक्ति र प्रशासनिक संयन्त्रको व्यावसायिक निष्ठा अनिवार्य छ । कार्यपालिकीय स्वेच्छाचारितालाई रोकी, बिचौलियातन्त्रको अन्त्य गर्दै पारदर्शी र उत्तरदायी स्थानीय सरकार निर्माण गर्न अब पनि ढिलाइ गरियो भने सङ्घीयताको मूल मर्म नै धरापमा पर्न सक्छ । (बाँकी कुरा अरु कुनै दिन)

