संघ \संस्था

नाकाको कारबाहीमाथि प्रश्न : सानामाथि कडाइ, ठूलामाथि नरमी

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका काँकरभिट्टामा सीमा सुरक्षा तथा चोरी–निकासी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलको कार्यशैलीमाथि स्थानीयले प्रश्न उठाउन थालेका छन्। सीमा क्षेत्रमा रातको समयमा अवैध रूपमा सामान ओसारपसार भइरहेको आरोपसँगै साना सवारी र चालकलाई कडाइ गर्ने तर ठूलो परिमाणको सामान ओसारपसार गर्ने समूहलाई छुट दिने गरिएको स्थानीयको दाबी छ।

मेचीनगरको उत्तर–पूर्वी क्षेत्रका तिरिङ, नकलबन्दा, तुर्केनी, पिङ्कीठ्याक, मेचीडाँडा, गैरीगाउँ, भान्साखोला र सतिघट्टालगायतका क्षेत्रमा रातको समयमा भारतबाट कपडा, मोटर पार्ट्सलगायतका सामान अवैध रूपमा भित्रिने गरेको स्थानीयको भनाइ छ। यस्तै नेपालबाट चिनियाँ स्याउ, लसुन, सुपारी तथा खरबुजाको बियाँ भारततर्फ लैजाने क्रमसमेत बढेको उनीहरूको दाबी छ। सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको निगरानी हुँदाहुँदै अवैध ओसारपसार भइरहेको भन्दै स्थानीयले प्रभाव र ‘सेटिङ’को आशंकासमेत गरेका छन्।

स्याउ बोकेको पिकअप पक्राउ
बिहीबार राति करिब ११ बजे तिरिङ क्षेत्रबाट भारततर्फ लैजाँदै गरिएको चिनियाँ स्याउ बोकेको पिकअप पक्राउ परेपछि उक्त क्षेत्रमा भइरहेको भनिएको अवैध निकासीको विषय फेरि सतहमा आएको छ। स्थानीय स्रोतका अनुसार उक्त क्षेत्रमा पछिल्लो समय चिनियाँ स्याउ, लसुन, खरबुजाको बियाँ र सुपारी ठूलो परिमाणमा भण्डारण गरिएको छ। काकडभिट्टाका एक व्यापारीले केही सातादेखि उक्त क्षेत्रलाई प्रयोग गर्दै आएको र पछिल्लो समय अर्को समूहसमेत थपिएपछि अवैध ओसारपसार बढेको स्रोतको दाबी छ।

कार्यालयअघिबाटै ‘लाइन’ चलेको आरोप
काँकरभिट्टा क्षेत्रमा सशस्त्र प्रहरीको नेतृत्व डीएसपी योगराज थापाले गरिरहेका छन्। इन्स्पेक्टर बाबुकाजी कटुवाल ट्वाईसीका रूपमा कार्यरत छन्। सशस्त्र प्रहरीले सीमा क्षेत्रमा तस्करी नियन्त्रणमा कडाइ गरिएको दाबी गर्दै आएको भए पनि स्थानीय भने त्यसको प्रभावकारितामाथि प्रश्न उठाउँछन्। डीएसपीको कार्यालय आसपासबाटै तस्करीको ‘लाइन’ चल्ने गरेको आरोपसमेत स्थानीयले लगाएका छन्। केही बर्ष अघि बाहुण्डाँगी बीओपीको कमान्ड सम्हालेका इन्स्पेक्टर बाबुकाजीको अहिले काकडभिट्टा क्षेत्रमा प्रभाव बढेको भन्दै स्थानीयले त्यसबारे पनि प्रश्न उठाएका छन्।

लाखौंका मोटर पार्ट्स बोकेको स्कर्पियो छुटेको आरोप
स्थानीयका अनुसार करिब एक महिनाअघि लाखौं रुपैयाँ मूल्यका मोटर पार्ट्स बोकेको स्कर्पियो गाडी मेची खोलाबाट गैरीगाउँ हुँदै अवैध बाटो प्रयोग गरेर भन्सार छली सामान ओसारपसार गर्ने क्रममा नियन्त्रणमा लिइएको थियो।
तर उक्त गाडी पछि छाडिएको आरोप स्थानीयको छ। सो घटनाबारे यसअघि समाचारसमेत सार्वजनिक भएको थियो। ठूलो मूल्यको सामानसहितको सवारी साधनमाथि प्रभावकारी कारबाही नभएको तर सामान्य सिटी रिक्सा चालकलाई मुद्दा चलाइएको भन्दै स्थानीयले सशस्त्रको कार्यप्रति प्रश्न उठाएका छन्।

६८ हजारको सामान, सिटी रिक्सामाथि मुद्दा
गत शनिबार जोरसिमल चेकपोस्टबाट ६८ हजार रुपैयाँ बराबरका जुत्ता र पर्दा बोकेको सिटी रिक्सा नियन्त्रणमा लिइएको थियो। सशस्त्र प्रहरीले उक्त सवारीको मूल्य करिब दुई लाख रुपैयाँ र बरामद सामानको मूल्य ६८ हजार रुपैयाँ कायम गरी मेची भन्सार कार्यालयमा मुद्दा पठाएको बताइएको छ। अनुसन्धानका क्रममा जुत्ताको भन्सार नभएको र पर्दाको मात्र भन्सार गरिएको खुलेको दाबी गरिएको छ। यस घटनाले सीमा नाकाबाट भन्सार प्रक्रिया पूरा नगरी सामान कसरी प्रवेश गर्‍यो भन्ने प्रश्नसमेत उठाएको छ।

दैनिक ज्याला–मजदुरीबाट जीविका चलाउने सिटी चालकले सामानको भन्सार प्रक्रिया वा प्रज्ञापनपत्रको वैधानिकता जाँच गर्न सक्ने अवस्था कति हुन्छ भन्ने प्रश्न स्थानीयले उठाएका छन्। भाडामा सामान बोकेको चालकको सवारीसमेत मुद्दामा तानिँदा ठूलो परिमाणमा सामान ओसारपसार गर्ने समूह भने कारबाहीबाट उम्किएको भए त्यसले कानुन कार्यान्वयनको समानतामाथि प्रश्न उठाउने जानकारहरूको भनाइ छ।

८२ हजारको कपडासहितको सिटी सफारीबारे पनि प्रश्न
केही दिनअघि ज्यामिरगढी क्षेत्रबाट करिब ८२ हजार रुपैयाँ मूल्यको कपडा बोकेको ७०२९ नम्बरको सिटी रिक्सा नियन्त्रणमा लिइएको थियो। तर त्यसविरुद्ध मुद्दा अगाडि नबढाई पछि छाडिएको आरोप छ। त्यसै दिन काकडभिट्टा बसपार्क क्षेत्रमा मेची भन्सारबाट फिटिङ गरी ल्याइएको कपडासहितको अर्को सिटी सफारी पनि नियन्त्रणमा लिइएको स्थानीयको भनाइ छ। पछि त्यसमा रहेको केही सामान मात्र राखेर बाँकी सामानसहित सवारी छाडिएको आरोपसमेत लागेको छ।

कानुन कि पहुँच ?
काँकरभिट्टा नाकामा भएका पछिल्ला घटनालाई लिएर स्थानीयले एउटा मूल प्रश्न उठाएका छन्—सीमा क्षेत्रमा कानुन समान रूपमा लागू भइरहेको छ कि पहुँच र प्रभावअनुसार कारबाहीको स्वरूप बदलिन्छ? साना व्यापारी र सिटी रिक्सा चालकलाई तत्काल नियन्त्रणमा लिएर मुद्दा चलाउने तर ठूलो मूल्यका सामानसहितका सवारी साधन वा संगठित रूपमा भइरहेको भनिएको तस्करी नियन्त्रणमा प्रभावकारी कारबाही नदेखिनुले सीमा सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठेको छ। स्थानीयका अनुसार सीमा नाकामा अवैध कारोबार नियन्त्रण गर्ने जिम्मेवारी कुनै व्यक्तिको स्वेच्छा वा पहुँचमा होइन, स्पष्ट कानुनी प्रक्रियामा आधारित हुनुपर्छ। कारबाहीमा समानता नदेखिए सुरक्षा निकायप्रतिको नागरिक विश्वास कमजोर हुने उनीहरूको चिन्ता छ।

छानबिनको माग
स्थानीयले काँकरभिट्टा र आसपासका सीमा क्षेत्रमा रातको समयमा हुने भनिएको अवैध ओसारपसार, पक्राउपछि छाडिएका सवारी साधन तथा मुद्दा चलाइएका घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। विशेषगरी ठूलो परिमाणमा सामान ओसारपसार गर्ने भनिएका समूह, प्रयोग भएका मार्ग, भण्डारणस्थल र सुरक्षाकर्मीको निगरानी प्रणालीबारे छानबिन आवश्यक रहेको उनीहरूको भनाइ छ।

सीमा सुरक्षा र भन्सार छली नियन्त्रण राज्यको महत्वपूर्ण जिम्मेवारी हो। त्यसैले सानो वा ठूलो जोसुकै व्यक्ति भए पनि प्रमाण र कानुनी प्रक्रियाका आधारमा समान व्यवहार हुनुपर्ने स्थानीयको माग छ। तसर्थ काँकरभिट्टा नाकामा उठेका यी प्रश्नको निष्पक्ष छानबिन र सम्बन्धित सुरक्षा निकायको स्पष्ट जवाफ आवश्यक देखिन्छ ।