धर्म संस्कृती

कोरोना कहरबिच राजवंशी समुदायले खेले दधिकाद (११ तस्बिर )

ललितबहादुर प्रधान
झापा, भदौ १५। कोरोना कहरबिच राजवंशी समुदायले दधिकाद खेल आयोजना गरेको छ ।

प्रत्येक बर्ष कृष्ण जन्मिएको भोलिपल्ट कृष्ण मन्दिरमा पूजापाठ गरी राजवंशी समुदायले अपराह्न दधिकाद खेल खेल्ने गरेका छन् । सोही अनुसार राजवंशी समाज मेचीनगर-७ मदनबस्तीले दधिकाद खेल आयोजना गरेको पुनलाल राजवंशीले जानकारी दिए ।

दधिकाद खेल भगवान् कृष्ण जन्मिएको खुसियालीमा परापूर्वकालदेखि खेलिँदै आएको सांस्कृतिक खेल हो ।

किंवदन्तीअनुसार सतियुगमा भगवान् कृष्ण जन्मिएको भोलिपल्ट बिहानै उनको दर्शन गर्न गाउँभरिका मान्छेहरू भेला भएका थिए ।

पानी परिरहेको मौसममा ठेलमठेल गर्दै कृष्णको दर्शन गर्न अघि बढेकाहरूले आँगन हिलाम्मे बनाएको र त्यही हिलोमा लड्दै आफूले लगेको कोसेली कृष्णलाई चढाएको सम्झनामा दधिकाद खेल खेल्ने गरेको राजवंशी समाजका अग्रजहरू बताउँछन् ।

हिलोक बीच तेल र घ्यु दलेर गाडिएको बासको टुप्पामा नगद पुरस्कार राखिएको हुन्छ । बास चढेर थैली खोल्ने खेलाडीले उक्त पुरस्कार प्राप्त गर्छन् । दधिकाद खेल्ने विजयी खेलाडीलाई नगद पुरस्कारको व्यवस्था समेत गरिएको हुन्छ ।

पछिल्लो समय यसलाई थप मनोरञ्जनात्मक बनाउन हण्डी फोर लगायता खेलको पनि आयोजना गरिदै आएको मेचीनगर-७ का उत्तम राजवंशीले जानकारी दिए।