अर्थ

१८ बर्ष मै करोडौंको ब्यवसाय हाक्दै संग्रौला

झापा।सात वर्षको कलिलो उमेरदेखि नै व्यापारलाई नजिक बाट नियाल्दै लक्का जवान बनेका एक ऊर्जावान् युवा हुन सौजनराज सङ्ग्रौला । वाटर किङ्डम पार्क एन्ड रिसोर्टका सञ्चालक सङ्ग्रौला सानै देखि  नै व्यापार व्यवसाय प्रति चासो राख्ने गर्दथे र बुबालाई नबुझेका कुराहरूमा जिज्ञासा राखेर बुझ्न खोज्दथे।

त्यही बालापनको जिज्ञासु स्वभावले नै आज १८ वर्षको उमेरमा नै  उनले ६२ करोडको कम्पनी सम्हाल्ने महत्त्वपूर्ण जिम्मेवारी पाएका छन्। उक्त जिम्मेवारीलाई सम्हाल्न दिनरात नभनी डटेर मेहनत गरिरहेका उनी कम उमेरमै परिपक्व बनेका छन्।

साधारण घर परिवारमा जन्मिएका सौजनको व्यापारिक यात्रा उनका बुवा राजकुमार सङ्ग्रौलाले सुरु गरेको हार्डवेयर पसल बाट भएको थियो। स्कुल छुट्टी हुने बित्तिकै पसल मै पुगिहाल्ने उनको बानी थियो भने पछि पछि त उनकै भरमा बुवा राजकुमारले पसल छाडेर हिँड्ने गर्दथे।

कसरी सुरु भयो वाटर पार्क ?

सौजनको परिवार पहिले बाट नै कृष्ण प्रणामी धर्ममा विश्वास राख्ने गर्दथ्यो जसका कारण समय समयमा भारतका विभिन्न मन्दिर दर्शन गर्न उनको परिवार पुगिरहन्थे। भारतका विभिन्न सहरमा ठुला ठुला वाटर पार्क देख्थे र धेरै नेपालीहरू वाटर पार्क को मजा लिन बोर्डर पारी जानुपर्ने बाध्यता लाई पनि महसुस गर्दथे। यिनै कुराले सौजनका बुबालाई आफ्नै जिल्लामा वाटर पार्क सञ्चालनमा ल्याउन सके बोर्डर पार गरेर झापा मोरङ का मानिसहरू जानु नपर्ने बरु उल्टै भारतीय पर्यटक भित्र्याउन सकिने सपना पाल्न थाले । र यही सपनालाई यथार्थ बनाउन रिसर्च गर्न थाले ।

बुवाको सपनालाई साकार पार्न काँध मा काँध मिलाएर पार्क बनाउन लागिपरे सौजन। फलस्वरुप २०७४ सालबाट करिब ११ करोडको लगानी बाट शिवसताक्षी–८ झिलझिलेमा २ बिगाहा ५ कट्ठा जग्गामा सुरु भयो वाटर किङ डमको कन्स्ट्रक्सन। शिलान्यास देखि पार्क बनिन्जेल सम्म नै हरेक दिन पार्कको फन्को लगाउँथे , सामान कति आयो , कहाँ बाट आयो बिल हेर्थे र रुजु गर्थे। उनको यस्तो बानिले उनको  परिवार नै अचम्ममा पर्थे भने छोराले सानै मा बिजनेसमा देखाएको चासोले खुसी पनि हुन्थे। समय बित्दै गयो यता सौजनले आफ्नो एस इ इ दिए उता पार्क सञ्चालनका लागि तयार भयो ।

कोरोनाको चुनौती 

लामो समय र ठुलो सङघर्ष पछि सञ्चालनका लागि पार्क तयार भयो र पार्कलाइ भव्यताका साथ ओपनिङ गर्ने प्लान बन्यो। तर कोरोना को महामारी यसरी फैलियो कि सञ्चालन का लागि तयार भएको पार्कलाइ १ वर्ष बन्द गर्नुपर्‍यो। जति खुसी पार्क तयार हुँदा थियो त्यति नै तनाव कोरोनाले थपिदियो। एक महिना मा कोरोना कम होला दोस्रो महिना देखि परिस्थिति सामान्य होला भन्ने आस गर्दागर्दै टुटेको हौसलालाई जोड्दा जोड्दै एक वर्ष पुगेको कुरा सम्झिँदै भावुक बने सौजन।

उनी भन्छन् ” हरेक दिन समाचार हेर्थ्यौ , कोरोनाको असर हेर्थ्यौ र आफ्नो पार्क हेर्थ्यौ कतै यस्तै भइरहे लगानी नै डुब्ने पो हो कि ? सडक मा पो आइने हो को भन्ने चिन्ताले बेला बेलामा सताइरहन्थ्यो”।

एक वर्ष लामो पर्खाइपछि कोरोनाको प्रभाव कम भयो र बिस्तारै सञ्चालनमा आयो वाटर पार्क। सुरुका दिनमा राम्रो गति लियो पार्कले। अब स्थिति सामान्य बन्ला भन्ने आस गर्दै पार्क को बाकी को ठाउँमा रिसोर्ट र सभा हल बनाउन सुरु भयो। निर्माण कार्य सुरु भएको ३ महिनामै फेरि ब्युँतियो कोरोनाको दोस्रो लहर ।

बारम्बारको कोरोना , विभिन्न बिघ्न बाधाका बिच रिसोर्ट बन्यो , सभा हल बन्यो र अन्ततः दिन आयो वाटर किङडम पार्क एन्ड रिसोर्ट को भव्य ओपनसङ को । उक्त पार्क तथा रिसोर्ट को ओपनिङमा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली बग्गी चढेरै पार्क प्रवेश गरे र बिधिवत रूपमा ओपनसङ भयो।

के के छ पार्क र रिसोर्टमा 

पार्क भित्र पानीमा खेलेर रमाउन सकिने आठ किसिमका खेलहरू रहेको सञ्चालक सौजनले बताए ।यहाँ आउने जोकोहीलाई  ४५ मिटर लामो कृत्रिम सुरुङ र समुन्द्री छालको जस्तो वेभ पुलले पर्यटकको मन तरङ्गित गर्नेछ । पार्कमा स्विमिङ पुल, चिल्ड्रेन पुल, सावर डान्स, नाइट क्लब, सोनाबाथ, फिटनेस सेन्टर , पार्कमा जिप लाइन, सुपर म्यान जिपलाइन र पछिल्लो पटक जिप साइक्लिङ पनि भित्र्याइएको छ ।  त्यति मात्र नभएर रिसोर्टमा स्विमिङको तालिम समेत हुँदै आएको छ ।  अनेकौँ मनोरञ्जनात्मक सुविधाले भरिपूर्ण रिसोर्ट प्रदेशकै नमुना पर्यटकीय स्थल बनाउन आफू अग्रसर बनेको सौजन बताउँछन्।

रिसोर्टमा मनोरञ्जनका लागि खेल तथा सुविधाहरूसँगै बस्न र खानका लागि अलगअलग ननभेज र भेज रेस्टुरेन्ट सञ्चालन गरिएको छ । रिसोर्टलाइ थ्री स्टार को स्तरीकरण दिलाउन प्रयासरत छन् उनी । हाल रिसोर्ट मा आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधा सम्पन्न २८ वटा कोठाको व्यवस्था समेत गरिएको छ।

आगामी योजना 

भारतीय पर्यटकलाई केन्द्रित गरेर अब भने रिसोर्टले क्यासिनो भित्र्याउने योजना बनाएको छ ।रिसोर्ट  भारतको सिमाना नजिक पर्ने भएकाले भारतीय पर्यटकको आवागमन ठुलै मात्रामा हुने गर्दछ। सोही जमातलाई मध्यनजर गर्दै क्यासिनोको योजना बनाएको सञ्चालक सङ्ग्रौलाले बताए। क्यासिनो सँगै स्पा सञ्चालन गर्ने पनि योजना बनाएका छौँ उनले भने।

त्यस्तै अहिले पनि विवाह र पार्टी गराइरहेको रिसोर्टले अब भने डेस्टिनेसन वेडिङ कै रूपमा बिकास गर्ने उद्देश्य लिएर थप पूर्वाधार बिकास गरिरहेको छ , सौजन बताउँछन्।  हरेक वर्ष हामीले राम्रो राम्रो ब्यान्ड ल्याएर १८/२० ओटा कन्सर्ट गराइरहेका छौ भने यस कार्यलाई पनि निरन्तरता दिने योजना हाम्रो छ , उनले भने।

५ दिने मेलाको आयोजना 

रिसोर्टले यही फागुन १ देखि ५ गते सम्ममा पुर्वान्चल कै पहिलो लोपोन्मुख जाती र भेसभुसाको जगेर्ना को लागि “वाटर किङ्डम सस्कृती उत्थान महोत्सव २०७९” को आयोजना समेत गर्ने भएको छ ।

संस्कृति संरक्षण एवम् प्रवर्द्धन गर्नका लागि विभिन्न जातजातिका भेसभुसाहरू, परम्परागत औजार तथा सामग्रीहरू, कलाकौशल, दैनिक जीवनमा प्रयोग हुने पुरातात्त्विक महत्त्वका वस्तुहरू, यस भेगका आदिवासी तथा जनजातिका भाषाभाषि तथा लिपिहरू सांस्कृतिक पार्कमा महोत्सव अवधिभर प्रदर्शनी गरिने उनले बताए।

जसलाई यस महोत्सवका दौरानमा वाटर पार्क आउने  मानिसहरूले प्रत्यक्षरुपमा अवलोकन तथा अध्ययन गर्न सक्नेछन् भने विद्यालयमा अध्ययनरत बालबालिकाहरू, युवा पुस्ता लगायतले पनि  भ्रमण गर्न सक्नेछन् ।

वाटर पार्क पुगेपछि कहाँ कहाँ जान सकिन्छ ?

झिलझिले स्थित राजमार्गबाट ३०० मिटर दक्षिणमा रहेको यो रिसोर्ट मा आउने पर्यटकले प्रख्यात धार्मिक स्थल सताक्षीधाम, ऐतिहासिक चिल्लागढ, दोमुखा जस्ता प्रख्यात पर्यटकीय स्थलको भ्रमण गर्न सक्नेछन्। पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सञ्चालक सङ्ग्रौलाले पूर्वका घुम्न योग्य इलाम, झापा, धनकुटा, ताप्लेजुङ, पाँचथर, सुनसरी लगायतका पर्यटकीय स्थलहरूमा प्याकेजमा भ्रमण गराउने बताए ।

उनले भने– ‘यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सस्तोमा पूर्वका पर्यटकीय स्थलहरूमा पुर्याएर मनोरञ्जन दिलाइने छ ।’ यसका अलावा भारतका कालिम्पोङ, दार्जिलिङ, खरसाङ, मिरिक जस्ता ठाउँ पनि प्याकेजमा घुमाउने योजना सङ्ग्रौलाले ल्याएका छन् । हामीले यो पार्क सँगै हाम्रो गाउँ ठाउँ को प्रवर्द्धनका लागि पनि सकेको कामहरू गर्ने प्रतिबद्धता गरेका छौँ  उनी भन्छन्।

अन्त्यमा ,
कम उमेरमा ठुलो जिम्मेवारी पाएका सौजनले उक्त जिम्मेवारी निभाउन कति पटक हौसला जुटाएका छन् कति पटक निराशा बटुलेका छन् त कति पटक कम उमेर कै कारण अपरिपक्वताको ट्याग समेत पाएका छन्।

तर ती सबै कुरालाई नजर अन्दाज गर्दै छलाङ मार्दैछन उनी , वाटर पार्कलाई सफल बनाउन कहिले कर्मचारी  त कहिले सञ्चालक , कहिले बजार व्यवस्थापक त कहिले सिङ्गो कारोबारको लेखा परीक्षक बनेका छन्। उनले अठोट लिएका छन् ” वाटर किङ्डम पार्क एन्ड रिसोर्टलाई सफलताको शिखर चुमाउने ।