अर्थ

मेचीनगर: यस्तो छ आर्थिक बर्ष २०८१/८२ मा नीति तथा कार्यक्रमको प्राथमिकता

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ का लागि प्रस्तावित बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज दोस्रो नगरसभाको पाँचौ अधिवेशनको उद्घाटन गर्दै मेचीनगरले आफ्नो आगामी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रमको प्राथमिकता प्रस्तुत गरेको हो ।

संवैधानिक प्रावधान अनुसार प्रत्येक वर्षको असार १० गते स्थानीय सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्छ । मेचीनगर नगरपालिकाले निर्धारित समयमै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०८१/८२ को लागि प्रस्तावित बजेट दुई अर्ब ५ करोड बढीको ल्याएको छ ।

मेयर गोपालचन्द्र बुढाथोकीको सभाध्यक्षमा पहिलो चरणको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको नीति तथा कार्यक्रमबाट प्रस्तावित बजेट उपमेयर मीना पोखरेल उप्रेतीले प्रस्तुत गरेकी थिइन् । उपमेयर उप्रेतीले दुई अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँको प्रस्तावित बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ ७३ करोड ९६ लाख ९४ हजार, पुँजीगततर्फ १ अर्ब ३१ करोड ७ लाख ८ हजार वित्तिय व्यवस्थापनतर्फ २५ लाख गरी कुल २ अर्ब ५ करोड २९ लाख २ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिन्।

त्यस्तै नगर स्तरीय चालु खर्चतर्फ २५ करोड १२ लाख ५० हजार, पुँजीगत खर्च ३५ करोड ५६ लाख ८ हजार गरी कुल ६० करोड ६८ लाख ५८ हजार, वडा स्तरीय चालु खर्च ७५ लाख, पुँजीगत खर्च १२ करोड ७५ लाख गरी कुल १३ करोड ५० लाख , संघबाट वित्तिय हस्तान्तरण मार्फत बिषयगत सशर्त अनुदान ४७ करोड २८ लाख पुँजीगत खर्चतर्फ ७८ करोड ६ लाख गरी कुल १ अर्ब २५ करोड ३४ लाख, प्रदेशबाट वित्तिय हस्तान्तरण मार्फत बिषयगत सशसर्त अनुदान चालु खर्चतर्फ ८१ लाख४४ हजार पुँजीगततर्फ २ करोड ७० लाख गरी कुल ३ करोड ५१ लाख ४४ हजार, ऋणको साँवा ब्याज भुक्तानी वित्तिय व्यवस्थापनतर्फ २५ लाख र समपुरक पुँजीगततर्फ २ करोड रुपैयाँको उपप्रमुख उप्रेतीले सभामा प्रस्ताव गरिन् ।

आयतर्फ आन्तरिक आम्दानी १६ करोड ७७ लाख रुपैयाँ, संघीय सरकारको वित्तीय समानीकरणतर्फ २४ करोड ९५ हजार रुपैयाँ, सशर्त चालू अनुदानतर्फ ४७ करोड २८ लाख रुपैयाँ, सशर्त पूँजीगत अनुदानतर्फ ७५ करोड ५६ लाख रुपैयाँ, विशेष अनुदानतर्फ २ करोड ५० लाख रुपैयाँ र राजश्व बाँडफाँटतर्फ १७ करोड ३७ लाख ६० हजार रुपैयाँ रहेको बजेटमा उल्लेख छ ।

यसैगरी, आयतर्फको कोशी प्रदेश सरकारको वित्तीय समानीकरणतर्फ १ करोड ६३ लाख रुपैयाँ, सशर्त चालू अनुदानतर्फ ८१ लाख ४४ हजार रुपैयाँ, सशर्त पुँजीगत अनुदानतर्फ १ करोड ४० लाख रुपैयाँ र राजश्व बाँडफाँटतर्फ १ करोड ७० लाख रुपैयाँ, समपूरक अनुदानतर्फ १ करोड ३० लाख रुपैयाँ, मालपोत घर रजिस्ट्रेसनबाट ११ करोड रुपैयाँ र दहत्तरबहत्तरबाट ३ करोड प्राप्त हुने बजेटमा जनाइएको छ ।

कूल बजेटमध्ये चालू खर्चमा ३६ दशमलव ०३ प्रतिशत, पूँजीगत खर्चमा ६३ दशमलव ८५ प्रतिशत र वित्तीय व्यवस्थानमा शुन्य दशमलव १२ प्रतिशत बजेट बिनियोजन गरिएको पाइएको छ ।

मेचीनगरको आर्थिक बर्ष २०८१/८२ अन्तर्गत यस्तो छ नीति तथा कार्यक्रमको प्राथमिकता

१. कृषिको आधुनिकीकरण र व्यवसायीकरणद्वारा प्रविधि हस्तान्तरण

२. सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा व्यापक सुधार

३. उद्योग तथा सहकारी

४. आधारभूत स्वस्थ्य सेवामा नागरिकको नि:शुल्क र सहज पहुँच तथा गुणस्तरिय स्वास्थ्य सेवाको विस्तार

५. नीजि र सहकारी क्षेत्रको सहकार्यमा कृषि उत्पादकत्वमा वृद्धि, रोजगारी सृजना र गरिवी निवारण

६. नवप्रवर्तनमा आधारित स्थानीय क्षेत्रको आर्थिक विकास

७. आन्तरिक श्रोतमा वृद्धिका लागि पूर्वाधार विकास

८. प्रभावकारी सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन

९. श्रमिकको पंजीकरण, श्रमिकको सुरक्षा र व्यवस्थापन

१०. एकीकृत शहरी विकास योजनाको निर्माण तथा कार्यान्वयन

११. लागू औषधको प्रयोग नियन्त्रणमा व्यापक सामाजिक परिचालन

१२. विकासका आयामहरुमा टोल विकास संस्थाको सहभागिता र साझेदारी

१३. आगामी आ.व. वाट निम्न वर्गको पहिचानगरी कार्यविधि वनाई खानेपानी समितिको सहकार्यमा ५ युनिट मात्र पानी खपत गर्ने जनताको सो ५ युनिटको रकम नगरपालिकाले भुक्तानी गरिदिने कार्यक्रम पेश गरिएको छ ।

१४. आगामी आ.व वाट वार्षिक १०० भन्दा वढी असुरक्षित आवाश भएका जनताका निम्ति कार्यविधि तथा मापदण्ड तयारगरी सुरक्षित आवाश अन्तर्गत टिनको छानो फेर्ने कार्यक्रम संचालन गरिने छ र यो कार्यक्रमलाई निरन्तरता दिइने छ ।

१५. आगामी वर्ष आयस्रोत नभएका, दैविक प्रकोपवाट पिडित निम्न वर्ग र साहारा विहिन परिवारका निम्ति कार्यविधि बनाई वार्षिक २० घर आवास निर्माण कार्यक्रम संचालन गरिने छ, र यो कार्यक्रमलाई निरन्तरता दिइनेछ ।