झापा । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले सबैले आफ्नो कला संस्कृतिको जगेर्ना गर्नुपर्ने बताएकी छिन् ।
झापाको मेचीनगरमा आज आयोजित ४३ औं राष्ट्रिय मगर एकता दिवस समारोहमा बोल्दै उनले बहुभाषि, बहुजाति र भिन्न भिन्न कला संस्कृतिको धनी देश नेपालमा सबै समुदायले आआफ्नो कला संस्कृति र धर्मको जगेर्ना गर्नुपर्ने बताइन् ।
जुनसुकै देश पनि समृद्धि बन्नका लागि त्यस देशको कला संस्कृति र पहिचान नै पहिलो प्राथमिकता हुने हुँदा नेपालमा सबै मिलेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । उनले मगर जातिको आफ्नो छुट्टै बिशेषता रहेको बताउँदै त्यसलाई कायम राख्न पनि समग्र मगर समुदाय लाग्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै उनले देश सफल हुनका लागि सर्वप्रथम शिक्षामा सबैको सहज पहुँच पुर्याउनु पर्ने बताएकी छन् । उनले नेपालको स्वभिमानलाई बचाउन पर्छ र त्यसको लागि शिक्षाबाट परिवर्तन ल्याउनुपर्ने उनको भनाइ थियो ।
नेपाल मगर संघ झापा अध्यक्ष विकास थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि उपसभामुख इन्दिरा राना मगर, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कार्यवाहक अध्यक्ष केवलराम राईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा मेचीनगर ३ का वडाध्यक्ष हर्क बस्नेत, मेचीनगर ५ का पुर्व वडाध्यक्ष योगेन थापामगर, जसपाका नेता ओमप्रकाश खापुङ्गलगायतको आतिथ्यता रहेको थियो ।
मेचीनगर ३ स्थित बलभद्र आधारभूत विद्यालयमा आयोजित उक्त कार्यक्रमको सञ्चालन नेपाल मगर संघ झापा सचिव अम्बर थापा मगरले गरेका थिए ।

