झापा । झापाको भद्रपुर नगरपालिका–८ क्याम्पस मोडमा आफ्नै वृद्ध आमामाथि कुटपिट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। ७९ वर्षीया चन्द्रमाया घिमिरेमाथि निर्घात आक्रमण गरेको आरोपमा उनका ३० वर्षीय छोरा यशिस घिमिरेलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सोमबार साँझ मदिरा सेवन गरि यशिसले आमामाथि निर्घात कुटपिट गरेका थिए। घटनाको भिडियो सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएसँगै व्यापक आलोचना भएपछि प्रहरीले तत्कालै खोजी तीव्र पार्दै आरोपितलाई पक्राउ गरेको जनाएको छ।

घटनापछि गम्भीर घाइते भएकी चन्द्रमाया घिमिरेलाई स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ। उनलाई स्वास्थ्य उपचारका लागि चिकित्सकको निगरानीमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काका अनुसार पक्राउ परेका यशिसमाथि अभद्र व्यवहार तथा कुटपिटसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। “वृद्ध आमामाथि भएको यस्तो अमानवीय व्यवहारप्रति हामी गम्भीर छौँ। कानुनी प्रक्रिया अनुसार दोषीमाथि कडा कारबाही हुन्छ,” खड्काले भने ।
यो घटनाले परिवारभित्रै हुने हिंसाका घटनाप्रति पुनः ध्यानाकर्षण गराएको छ। पछिल्ला दिनमा घरेलु हिंसाका घटनाहरू सार्वजनिक हुँदै जाँदा कानुनी कार्यान्वयनसँगै सामाजिक सचेतनाको आवश्यकता अझ बढ्दै गएको प्रष्ट हुन्छ ।

