शिक्षा

घट्दै एसइई परीक्षाको हाउगुजी

काठमाण्डौं / अक्षराङ्कन प्रणाली कार्यान्वयन र प्रदेशस्तरबाट प्रश्नपत्र सोध्न थालिएपछि माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा देखिने हाउगुजी घट्दै गएको छ ।

जुनसुकै परीक्षामा एक प्रकारको मनोवैज्ञानिक दबाब हुने भए पनि विगतको प्रवेशिका एसएलसी मा जस्तो विद्यार्थी र अभिभावकमा त्रास र डरको भार घटेको पाइएको छ ।

सरकारले कक्षा १२ सम्मलाई माध्यमिक शिक्षाको मान्यता दिएपछि कक्षा १० को एसइई परीक्षाले नीतिगतरुपमै राष्ट्रिय महत्व पाउन छाडेको छ ।

संविधानले माध्यमिक शिक्षासम्मको सञ्चालन र व्यवस्थापनको अधिकार स्थानीय तहमा दिइएकाले पनि परीक्षा व्यवस्थापन क्रमशः सङ्घीय संरचनामा जान थालेको हो ।

विगतमा यो परीक्षालाई ‘फलामे ढोका’ को सङ्ज्ञा दिने गरिएकाले यसका नाममा एक प्रकारको हाउगुजी थियो । यसरी हाउगुजी सिर्जना गर्दा विद्यार्थीले जानेको विषयमा समेत सन्तोजनक उत्तर दिन नसक्ने अवस्था थियो ।

आफू पढेको भन्दा अन्यत्रको विद्यालयमा परीक्षा केन्द्र तोकिने प्रणालीले पनि विद्यार्थी र अभिभावकमा परीक्षाको धङ्धङ्गी देखिन्थ्यो ।

राष्ट्रिय परीक्षा बोर्डले सातै प्रदेशमा कार्यालय खोली परीक्षा सञ्चालन गर्ने योजना लिए पनि एसइईका लागि विगतको परीक्षा नियन्त्रण कार्यालयकै संरचनामा व्यवस्थान गरिरहेको छ । यस वर्षबाट परीक्षाको व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारले लिएको छ ।
यस वर्षको एसइई यही चैत १० गतेदेखि २१ गतेसम्म यो परीक्षा देशभर एकैसाथ हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

यस वर्षको परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक क्षेत्रका गरी कूल चार लाख ७५ हजार तीन परीक्षार्थीले आवेदन दिएका छन् । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *