विविध

मेचीनगरको एउटा सिंगै वडामा खानेपानीको अभाव, १ हजार बढी घरपरिवार शुद्ध पिउने पानीको पर्खाइमा

नवराज सुबेदी
मेचीनगर, बैशाख १४ ।
शुद्ध पिउने पानी सहज ढंगले उपभोग गर्न पाउनु हरेक नागरिकको आधारभुत आवयश्यक्ता हो । देशका सबै नागरिकको सहज पहुँचमा खानेपानी पु¥याउने सरकारको पनि निति छ । तर आज पनि देशका अधिकांश भेगका मानिसहरु खानेपानीको सहज पहुँचमा पुग्न सकेका छैनन् । देशकै पूर्वी जिल्ला झापा मेचीनगरको एउटा सिंगै वडा अहिले पनि खानेपानीको चरम अभावमा गुज्रिरहेको छ । मेचीनगर नगरपालिका वडा नं २ मा खानेपानीको अभाव भएको हो ।

साँच्चै यो खानेपानीको अभाव कहिलेसम्म रहने होला ? अहिले झापा मेचीनगर २ का अधिकांश घरपरिवारमा यहि प्रश्नले सताइरहेको छ । वडाका १ हजार भन्दा बढी घरपरिवार खानेपानीको चरम अभाव भोगिरहेका छन् । मेचीनगर २ का पुष्पलाल मिश्र खानेपानीको सहज पहुँच कहिले हुने होला, पर्खाईमा हुनुहुन्छ । यस समयमा घरमा खनिएका ईनार पनि सुक्ने भएकाले पानीको चरम अभाव भएको उहाँ बताउनुहुन्छ ।

यस क्षेत्रमा खानेपानीको समस्या आजको मात्रै होइन । पहिलेदेखि नै यहाँ खानेपानीको चरम समस्या छ । खानेपानीको अभाव भएका कारण डोको नाम्लोमा पानी बोकेर खानेपानीको जोहो गर्नुपरेको मेचीनगर २ का युवा रोशन निरौलाले बताउनुभयो ।

आफ्नो वडामा खानेपानीको अभाव भएको वडाका जनप्रतिनिधिहरुले पनि बताएका छन् । खानेपानी अभावकै कारण यहाँका मानिसहरु विस्थापित हुने अवस्था आइसकेको मेचीनगर २ का वडा सदस्य सुरेश घिमिरेको भनाई छ ।

यहाँ खानेपानी आयोजनाका रुपमा सिद्धि नहर वृहत खानेपानी आयोजना पनि रहेको छ । तर व्यवस्थित रुपमा भने उक्त आयोजना संचालन हुन सकेको छैन । त्यस आयोजनालाई सरोकारवाला निकायले बिशेष ध्यान दिएर संचालन गर्न सके मेचीनगर २ का जनता खानेपानीको सहज पहुँचमा पुग्न सकने वडा सदस्य घिमिरे बताउनुहुन्छ ।

वडाभरिका जनताको खानेपानी अभावलाई मध्यनजर गर्दै वडा कार्यलयले विभिन्न पहल गरिरहेको मेचीनगर २ का वडाअध्यक्ष तिलक न्यौपनेले बताउनुभयो । वडाले खानेपानीको पहल गरिरहेका कारण अबको २ बर्ष भित्र वडामा खानेपानी समस्याको अन्त्य हुने वडाअध्यक्ष न्यौपानको भनाई छ ।

जनताहरुलाई खानेपानीको चरम अभाव छ । वडा कार्यालय पनि खानेपानीको उपलब्धताका लागि पहल गरिरहेको बताउँछ । खानेपानीको अभाव थोरै घरमा मात्रै होइन सिंगो वडा नै खानेपानीको अभावमा गुज्रीरहेको छ, जनताको खानेपानी अभावलाई केन्द्रमा राख्दै स्थानीय सरकारदेखि विभिन्न सरोकारवाला निकायले बिशेष पहल गर्नुपर्ने वडाबासीको भनाई छ ।