राजनीति स्वास्थ्य

कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न तीनै तहको सरकारलाई युवा संघ झापाको आग्रह

झापा, बैशाख २१ । युवा संघ नेपाल जिल्ला कमिटी झापाले कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न स्थानीय, प्रदेश र केन्द्र सरकारलाई आग्रह गरेको छ । भुसको आगो जसरी फैलिरहेको कोरोना संक्रमण रोक्न उचित स्वास्थ्य सामाग्रीको प्रबन्ध मिलाएर उद्धार कार्यमा जुट्न संघले सबैमा अपिलसमेत गरेको छ ।

संघका जिल्ला कमिटी अध्यक्ष राजु धिमाल र सचिव निकास पाण्डेद्वारा हस्ताक्षरित ६ बुँदे ध्यानाकर्षण पत्रमा स्थानीय सरकारले नागरिकलाई कोरोना भाइरस बारे यथार्थ जानकारी दिँदै राज्यको तर्फबाट संक्रमितको उपचार व्यवस्था चुस्त बनाउन माग गरिएको छ ।

यस्तै, भारतीय नाकाहरुबाट भइरहेको आवतजावतमा कडाइ गरी स्वास्थ्य चेकजाँचको प्रभावकारी व्यवस्था मिलाउन माग गरिएको छ । नेपाल प्रवेश गर्ने जो कोहीलाई अनिवार्य क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाएर कोरोना फैलिन नदिन स्थानीय सरकारले चासो दिनुपर्ने उल्लेख छ ।

आवश्यक स्वास्थ्य सामाग्रीको जोहो गर्नुपर्ने, एक स्थानीय तहमा कम्तिमा दुईवटा क्वारेन्टिन, एउटा आइसोलेसन कक्ष, आइसोलेसन ल्याव र सेम्पल कलेक्सन केन्द्र तोक्ने व्यवस्था मिलाउन स्थानीय सरकारसँग माग गरिएको छ ।

स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्नका लागि प्रयोग गरिने पीपीइ तथा ल्यावमा आवश्यक रसायनिक सामग्रीको अभाव रहेको भन्दै युवा संघले यथाशीघ्र व्यवस्थापन गर्न ध्यानाकर्षण गराइएको छ ।

कोरोना संक्रमणको बेला व्यापारीले आफूखुशी मूल्यवृद्धि गरिरहेकोप्रति युवा संघले चिन्ता व्यक्त गरेको छ । उसले त्यस्ता कालोबजारी र मूल्य बढाउने व्यापारीलाई कारवाही गर्न माग गरेको छ । साथै, संघले अक्सिजन अभाव हुन नदिन समयमै व्यवस्थापनमा लाग्न सरकारलाई भनेको छ ।

मानव जातिमा आइपरेको यो संकटलाई व्यवस्थापन गर्न युवा संघ नेपाल जस्तोसुकै सहयोग र सहकार्य गर्न तयार रहेको जनाइएको छ । युवा संघ नेपालको केन्द्रीय कमिटीको निणर्य अनुसार प्रत्येक स्थानीय तहमा ५० सदस्यीय स्वयम्सेवक कमिटी निर्माण गरिएको जिल्ला अध्यक्ष राजु धिमालले बताए ।

स्थानीय कोरोना रोकथाम तथा नियन्त्रण समितिले हरेक स्थानीय सरकारसँग समन्वय गरी सहयोग तयार रहेको अध्यक्ष धिमालले बताए ।