खेलकुद

साफः आज नेपालले श्रीलंकासंग दोस्रो खेल खेल्दै

काठमाडौं । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज श्रीलंकासंग खेल्दैछ । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपालले आज श्रीलंकाको सामना गर्न लागेको हो ।

नेपाल र श्रीलंकाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

बलियो टिम श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने नहुने तर, नेपालले नतिजा आफ्नो पक्षमा पार्ने मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बताए । उनले भने, श्रीलंकाविरुद्धको खेल चुनौतीपूर्ण हुनेछ । सजिलो हुनेछैन । हामीले श्रीलंकाविरुद्ध कम्तिमा एक अंक बटुल्ने अपेक्षा लिएका छौ, श्रीलंकाका खेलाडीहरु ट्याकलमा आक्रामक छन् । तर, उनीहरुको आक्रामक खेलको फाइदा उठाउने छौ ।

नेपाल तीन अंक जोडेर शीर्ष स्थानमा रहेको छ । यता श्रीलंका पनि पहिलो जित निकाल्ने योजनामा रहेको छ । श्रीलंका बंगलादेशसंग १–० ले अन्तरले पराजित भएको थियो ।

साफ अन्तर्गत नै सोमबार आज हुने पहिलो खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। भारत र बंगलादेशबीचको खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।