संघ \संस्था

पत्रकार महासंघ झापाको भवन स्तरोन्नति शुरु

झापा। नेपाल पत्रकार महासंघ झापाले बिर्तामोडस्थित कार्यालय भवनको स्तरोन्नतिका लागि पहिलो तलाको निर्माण शुरु गरेको छ ।

शुक्रबार महासंघको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रदेश नं. १का पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की र नेपाल पत्रकार महासंघ प्रदेश नं. १का अध्यक्ष लीलाबल्लभ घिमिरेले संयुक्त रुपमा भवन निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।

भवन निर्माण शुभारम्भ गर्दै पूर्वमन्त्री कार्कीले निष्पक्ष, मर्यादित र सत्यतथ्य पत्रकारितामा जोड दिए । उनले आगामी दिनमा पनि पत्रकार महासंघलाई आवश्यक सहयोग रहने प्रतिवद्धता जनाएका छन् ।

महासंघ प्रदेश नं. १ अध्यक्ष घिमिरेले महासंघ झापाको भवन निर्माणको योजना सार्थक बनाउन सहयोग गर्ने प्रतिबद्धतासहित पत्रकारको क्षमता अभिबृद्धिका लागि प्रदेश समिति क्रियाशील रहेको बताए ।

अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार रानाले नगरको तर्फबाट पनि भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए । रानाले पत्रकारिता निष्पक्ष हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव ओमकारप्रसाद न्यौपानेले मन्त्रालयको तर्फबाट झापा शाखाको भवन निर्माण कार्य सम्पन्न गर्न आगामी आर्थिक बर्षमा पनि सहयोग गर्ने बताए । उनले गुणस्तरीय निर्माणमा जोड दिए ।

महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, प्रदेश समितिका महासंचिब विवेक गौतम, कोषाध्यक्ष बिमल लामिछाने, झापा शाखाका पूर्वअध्यक्ष चिन्तामणि दाहाल, प्रेस सम्बद्ध संघ–संगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थति रहेको थियो । महासंघका उपाध्यक्ष तथा भवन निर्माण समितिका संयोजक केशव भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

महासंघको कार्यालय भवन तीन तले निर्माण सम्पन्न गर्ने र त्यसका लागि एक करोड रुपैयाँ लागत योजनाका साथ कार्यसमितिले काम अघि बढाएको बताइएको छ । महासंघ कार्यालयमा आधुनिक ई–लाइब्रेरी, बैठक कक्ष, कार्यालय र सभाहल निर्माण गर्न लागिएको बताइन्छ । हाल भुइँतले घरमा कार्यालय सञ्चालित छ । महासंघ झापाको कार्यालय भवनस्तरोन्नतिका लागि प्रदेश सरकारले यस आर्थिक बर्षमा ४० लाख र बिर्तामोड नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरिसकेको छ ।

भवन निर्माणका लागि सहयोग पु¥याउन महासंघले उद्योगी–व्यवसायी तथा इच्छुक दाताहरुलाई आग्रह पनि गरेको छ । भवन निर्माणको लागि उपाध्यक्ष भट्टराईको संयोजकत्वमा सात सदस्यीय निर्माण उपभोक्ता समिति गठन गरिएको छ ।

समितिको सदस्यहरुमा रञ्जित प्रसाई , अनिल वाग्ले, चिरञ्जीवी घिमिरे, मनिषा चम्लागाँइं, रञ्जित परियार र राजन साम्पाङ रहेका छन् । त्यस्तै महासंघका पूर्वमहासचिव चन्द्र भण्डारीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा विमल लामिछाने (बुद्धि), गणेशमान मुखिया र सावित्रा दाहाल भट्टराईरहेका छन् ।