धर्म संस्कृती

आज नवरात्रको आठौँ दिन : महागौरीको उपासना गरी महाअष्टमी मनाइँदै

काठमाडौं । नवरात्रको आज आठौं दिन । आज नवदुर्गामध्येकी महागौरीको उपासना गरिन्छ । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । आजको दिनलाई महाअष्टमी पनि भनिन्छ । देशभरका शक्तिपिठहरूमा आज विशेष पूजाआजा हुने गर्छ ।

श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः ।
महागौरी शुभं दद्यान्महादेवप्रमोदया ।।

महादेवको प्रिय रहेकी महागौरीको स्वरुप अनुपम रहेको छ । महागौरी स्वरुप सेतो साँढेमा सेतै कपडा लगाएर सवारी गर्ने र वर्ण पनि गोरै रहेको छ ।

महागौरीको पूजाआराधनाले मनुष्यमा रहेको अनेक दोषहरू हट्ने पूर्वजन्ममा गरेका पापसमेत नाश हुने विश्वास रहेको छ । महागौरीको भक्तिले अलौकिक सिद्धि प्राप्त हुने जनविश्वास छ ।

नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।

आजराति कालरात्रिका रूपमा पशु बलिको विधि र पूजा आरधनासहित मनाउने गरिन्छ । पशु बली नदिनेले पनि नरिवल, कुभिण्डो, केरा, घिरौँला आदिको बली दिने गर्छन् । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।

आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।

आजै हनुमानढोकाको दसैंघरमा रहेको मूल चोमा तलेजु भवानीलाई ५४ वटा राँगा र ५४ वटा बोकाको बली दिइन्छ ।