खेलकुद

मेचीनगरमा नेपाल र भारतका क्लब स्तरिय नकआउट फुटबल प्रतियोगिता हुदैँ

मेचीनगर । झापाको मेचीनगर ३ स्थित बडाखालमा नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय नवज्योती युवा क्लबको आयोजनामा यही माघ २८ गतेबाट प्रतियोगिता आयोजना हुने भएको हो ।

क्लबको ३० औँ बार्षिक उत्सवको अवसरमा नेपाल र भारतका टिम सम्मिलित प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष सुमन थापाले बताए । अध्यक्ष थापाका अनुसार प्रतियोगितामा छिमेकी मुलुक भारतसहित झापा र इलामका १० टिमले प्रतिष्पर्धा गर्ने छन् ।

प्रतियोगितामा आयोजक नवज्योती युवा क्लबको ‘ए’ र ‘बि’ गरी २ वटा टिम सहित भारतको दार्जिलीङबाट प्रकाश ११ फुटबल क्लब, इलामको जिर्मले फुटबल क्लब, न्यु स्टार क्लब बुद्धशान्ति, शनिश्चरे फुटबल क्लब, बिर्तामोड फुटबल क्लब, ब्रर्दश युनाइटेड चन्द्रगढी ,न्यु स्टार क्लब खोपवाडी र रोलिङ क्लब धुलाबारीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

मेचीनगर ३ स्थित नवज्योती अधारभुत विद्यालयको प्रांगणमा हुने प्रतियोगिता फागुन ९ गते समापन हुने छ । प्रतियोगिताको विजेता टोलीले नगद ८१ हजार र उपविजेता टोलीले ५१ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

उद्घाटन खेलमा इलामको जिर्मले फुटबल क्लब र आयोजक क्लब ‘बि’ बिच प्रतिस्पर्धा हुनेछ ।