खेलकुद

जेसीज कप : उपाधि सौराहलाई

मकवानपुर । मकवानपुरमा सञ्चालन भएको मकवानपुरगढी जेसीज कप फुट्सल प्रतियोगिताको उपाधि सौराह जेसीजले जितेको छ । शनिबार भएको फाइनल भिडन्तमा आयोजक मकवानपुरगढी जेसीज (प्रस्तावित)लाई ७–२ गोल अन्तरले हराउँदै सौराहले उपाधि सहित नगद एक लाख रुपैयाँ जितेको हो ।

उपविजेता भएको आयोजक शाखाले भने ५० हजार रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ । सौराहको तर्फबाट अ सिम भट्टराईले ४ र शिखर लम्सालले ३ गोल गरेका हुन् भने आयोजकको तर्फबाट विवश थिङले २ गोल गरेका थिए । सौराहले पालुङ जेसीजलाई र मकवानपुरगढीले वीरगञ्जलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो । प्रतियोगितामा अनुशासित टिमको पुरस्कार सूर्योदय जेसीजले प्राप्त गर्दा विधागत उत्कृष्टको पुरस्कार विजेता सौराहका खेलाडीले प्राप्त गरे ।

उत्कृष्ट खेलाडी अ सिम भट्टराई, उत्कृष्ट गोलरक्षक सौगात रिजाल र सर्वाधिक गोलकर्ता शिखर लम्साल घोषित भए । उनीहरुले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको विजेता तथा सर्वोत्कृष्ट खेलाडीहरूलाई मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी नेपाली पाख्रीन, नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष सोनी श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका हुन् ।

गाउँपालिका अध्यक्ष स्याङ्तानले यस प्रतियोगिताले गाउँपालिकाको आन्तरिक पर्यटन प्रवद्र्धनसहित खेलकुदको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै आगामी वर्षहरूमा पनि निरन्तरता दिन आग्रह गरे । आयोजक मकवानपुरगढी जेसीजका अध्यक्ष पुष्पराज पुडासैनीले जेसीज शाखाहरूको बिचमा भ्रातृत्वको सम्बन्ध स्थापनासँगै खेलकुदको माध्यमबाट पर्यटन प्रबद्र्धनका निम्ति प्रतियोगिता आयोजना गरिएको बताए । उनले आगामी दिनमा पनि यस प्रतियोगितालाई निरन्तरता दिँदै जाने योजना रहेको बताए ।