मनोरञ्जन

धुलाबारी महोत्सव : ‘लाहुरे’ संगै झुमे दर्शक, आज ज्योति मगर आउँने

धुलाबारी । मेचीनगरमा जारी धुलाबारी महोत्सवमा चर्चित र्यापर ‘लाहुरे’ संगै मेचीनगरबासी झुमेका छन् । नेपाल कै चर्चित र्यापर आशिष राना ‘लाहुरे’ ले मेची चेम्बर अफ कमर्सको आयोजनामा असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० को १८ औँ दिन सोमबार साँझ दर्शकलाई भरपुर मनोरञ्जन दिएका हुन् ।

उनले आँफूले बजारमा ल्याएका नयाँ पुराना चर्चित गीतहरु गाउँदैं दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । उनको आफ्नै ताण्डव, बिरामीलगायत आधा दर्जन गीतहरुमा प्रस्तुति दिएका मेची चेम्बर अफ कमर्सका महासचिव एवम् महोत्सव समितिका सचिव प्रकाश खड्काले बताए ।

महोत्सवमा राष्ट्रिय कलाकारहरु धमाधम आउन थालेपछि दर्शकहरुको भिड बढ्न थालेको आयोजकको भनाई छ । आइतबार चर्चित कलाकार शिव परियारको गीतमा दर्शकहरु कम्मर मकाई मकाई नाचेका थिए ।

यसअघि महोत्सवमा गायिका रचना रिमाल, एलिना चौहान, मेलिना मैनाली, गायक माइला, महेश काफ्ले, कमल खत्री, प्रमोद खरेललगायतका राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति दिइसकेका छन् । त्यस्तै आज मंगलबार चर्चित गायीका ज्योति मगरको प्रस्तुती रहने आयोजक समितिले जनाएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति दिइरहेका छन् । महोत्सवमा केहि दिनपछि मुन्द्रे व्याण्डको पनि प्रस्तुति रहने जनाइएको छ ।