खेलकुद

पीएसजी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौंं, भदौ ३ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा जर्मन क्लब आरबी लेइपजिगमाथि ३–० गोलको जित निकाल्दै पीएसजी अन्तिम दुईमा प्रवेश गरेको हो ।

पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा भएको खेलमा पीएसजीलाई जिताउन मार्किन्होस, एन्जल डी मारिया र जुआन बर्नाट भेलास्कोले समान एक–एक गोल गरे । त्यसबाहेक डी मारियाले २ गोलमा पास मिलाएका थिए ।

खेलको १३औं मिनेटमा मार्किन्होसले डी मारियाको फ्रिकिकलाई गोलमा परिणत गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै खेलको ४२औं मिनेटमा डी मारियाले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । उनले नेयमारको ब्याक पासमा गोल गर्दै पहिलो हाफभरि पीएसजीलाई २–० गोलको अग्रता दिलाए ।

त्यसअघि खेलको पाँचौं मिनेटमा नेयमार गोल गर्नबाट चुकेका थिए । एम्बाप्पेको पासमा उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो । यस्तै १६औं मिनेटमा एम्बाप्पेले गोल गर्ने मौका गुमाएका थिए ।

खेलको ५६औं मिनेटमा जुआन बर्नाट भेलास्कोले गोल गर्दै पीएसजीको अग्रता तेब्बर बनाए । भेलास्कोले डी मारियाकै पासमा गोल गर्दै पीएसजीलाई फाइनलमा पुर्‍याएका हुन् ।

जितसँगै पीएसजी इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगेको छ । यसअघि सन् १९९४–९५ को सिजनमा इटालियन क्लब एसी मिलानसँग सेमिफाइनलमा पराजित भएको थियो ।

यता, १२ वर्षअघि मात्र स्थापित लेइपजिगको च्याम्पियन्स लिगको यात्रा सेमिफाइनलभन्दा अगाडि बढ्न सकेन ।

अब, पीएसजीले फाइनलमा जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब लियोनबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ । बायर्न र लियोनले बुधबार राति दोस्रो सेमिफाइनल खेल खेल्दैछन् ।

फाइनल खेल भने २३ अगस्टमा हुनेछ ।