राजनीति

कम्युनिस्ट आन्दोलनको रक्षा गर्न पार्टी एकताको पक्ष्यमा उभिन प्रदेश १ का कार्यकर्तालाई आह्वान

झापा, पुस ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १ नं. प्रदेशका जिल्ला इन्चार्जहरुले कम्युनिस्ट आन्दोलनको रक्षा गर्न पार्टी एकताको पक्ष्यमा उभिन नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।

आज संयुक्त अपिल जारी गर्दै प्रदेश १ का सबै जिल्ला इन्चार्जहरुले पार्टी एकताको पक्षमा उभिन सबै पार्टी पङतीलाई यस्तो आह्वान गरेका हुन् ।

प्रदेश १ का १३ जिल्ला इन्चार्ज र एक जिल्लाका सहइन्र्चाजले संयुक्त हस्ताक्षर गरी जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली गैर कम्युनिष्ट भएको बताएका छन् । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष समेत रहेको बेला ओलीले बिदेशी शक्तिको इसारामा देश र जनताको मर्म बिपरित आम नेपाली जनताको भरोसामाथी बिश्वासघात गर्दै गैरलोकतान्त्रीक कदम चालेको बताएका छन् ।

प्रदेश १ का जिल्ला इन्चार्जहरुले संयुक्त हस्ताक्षर गरी जारी गरेको अपिलमा ओलीले परिवर्तनका उपलब्धीमाथी धाबा बोल्दै पार्टी फुटाउनेसम्मको दुस्साहस गर्दै पार्टीको बिधि र पद्धत्ति र मर्ममाथी धाबा बोलेको आरोप लगाएका छन् ।