संघ \संस्था

भद्रपुरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक, टपका सम्पादकसहित चार पत्रकार पुरस्कृत

झापा । प्रदेश १ कै प्रथम बालमैत्री स्थानीय शासनयुक्त भद्रपुर नगरपालिकाले चालु आर्थिक २०७८-०७९ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।  नगर कार्यपालिकाको आठौँ नगर सभाबाट पारित ८३ करोड, १३ लाख २ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम नगरपालिकाले आइतबार एक समारोहका बिच सार्वजनिक गरेको हो । 

भद्रपुर– ६ स्थित कृष्ण द्वैपायन गुरुकुल बेद विद्याश्रमको सभा हलमा आयोजित समारोहमा प्रदेश सांसदहरू गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली र पूर्णसिंह राजवंशीले बजेट, नीति तथा कार्यक्रमको पुस्तक सार्वजनिक गरेका हुन् ।

आर्थिक विकास कार्यक्रमतर्फ ३ करोड ५४ लाख, सामाजिक विकास कार्यक्रमतर्फ २९ करोड ८० लाख ३० हजार, वातावरण तथा विपद् व्यवस्थापन कार्यक्रमतर्फ १ करोड ८४ लाख, संस्थागत विकास, सेवा प्रवाह, सूचना प्रविधि तथा कार्यालय सञ्चालनतर्फ १४ करोड २३ लाख ७२ हजार र पूर्वाधार विकास कार्यक्रमतर्फ ३४ करोड ३२ लाख गरी कुल ८३ करोड, १३ लाख २ हजार रुपैयाँ बराबरको बजेट रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज प्रसाईँले जानकारी दिए । 

यस बजेटमा नेपाल सरकारबाट सोझै भुक्तानी हुने कार्यक्रमहरू बापत प्राप्त हुने रकमलाई समावेश नगरिएको उनले जनाए । ‘पूर्वी क्षेत्रको व्यापारिक द्वार, शान्ति र समृद्धिसहितको भद्रपुर नगर’ भन्ने यस नगरपालिकामा जनप्रतिनिधि आएपछि चार बर्से कार्यकालमा महत्त्वपूर्ण उपलब्धिहरु भएको नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार गत २०७७ साल पुस ७ गते प्रदेश १ कै पहिलो बालमैत्री नगर घोषणा, २०७५ साल मङ्सिर १३ गते खुला दिसामुक्त नगर घोषणा, २०७५ साल असोज ७ गते पूर्ण खोपयुक्त नगर घोषणा गरिएको बताए । साथै शैक्षिक, युवा तथा खेलकुद, कृषि, स्वास्थ्य, पर्यटन, समावेशी र लक्षित वर्ग, भौतिक पूर्वाधार उद्यमशीलता तथा रोजगार, घर नक्सा, सूचना तथा प्रविधि, विपद् व्यवस्थापन, आन्तरिक राजश्व परिचालन, प्रशासनिक व्यवस्थापनमा उल्लेख्य काम गरेको उनले बताए । 

नगरपालिकाका मेयर श्रेष्ठको अध्यक्षता तथा प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सांसदहरू श्रीप्रसाद मैनाली, पूर्णसिंह राजवंशी, ओमप्रकाश सरावगी, नगरपालिकाकी उपमेयर चन्द्रमाया श्रेष्ठ, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, माओवादी केन्द्र भद्रपुरका अध्यक्ष शिवकुमार राजभण्डारी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन नगरपालिकाका सूचना अधिकारी नेत्र घिमिरे र सामाजिक विकास शाखाका प्रमुख जीवनकला राउतले संयुक्त रुपमा गरेका थिए । 

टपका सम्पादकसहित चार पत्रकार पुरस्कृत 

भद्रपुर नगरपालिकाले बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहको अवसरमा टाइम्स अफ प्रदेश (टप)का सम्पादक पार्थ मण्डलसहित चार पत्रकार पुरस्कृत भएका छन् । 

२०६३ सालदेखि पत्रकारिता क्षेत्रमा प्रवेश गरेका टपका सम्पादक मण्डललाई नगर विकास प्रोत्साहन पत्रकारिता पुरस्कारबाट नगद १० हजारसहित पुरस्कृत गरेका हुन् । हाल पत्रकार मण्डल थाहा खबर, एबीसी टेलिभिजन, मकालु टेलिभिजन, सूर्योदय टेलिभिजन र हिमालय टाइम्स मिडियामा आबद्ध छन् ।

त्यस्तै नगर विकास प्रोत्साहन पत्रकारिता पुरस्कारबाट राजबाबु शङ्कर, रोहित काफ्ले र लोकबहादुर कुँवर पुरस्कृत भएका छन् । शङ्कर र काफ्लेलाई नगद १५ हजारको दरले र कुँवरलाई नगद १० हजारले पुरस्कृत गरेका हुन् । अग्रज पत्रकार शङ्कर साप्ताहिक समाचारका सम्पादक, काफ्ले निर्माण लहर साप्ताहिकका सम्पादक र कुँवर प्रतिनिधि दैनिकमा आबद्ध छन् ।

उनीहरूलाई प्रदेश सांसदहरू गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, पूर्णसिंह राजवंशी, ओमप्रकाश सरावगी, नगरपालिका मेयर जीवनकुमार श्रेष्ठ, चन्द्रमाया श्रेष्ठ लगायतले दोसल्ला, ढाका टोपी र सम्मान पत्रले पुरस्कृत गरेका थिए ।

त्यस्तै सोही अवसरमा नगरपालिकाले पूर्व जनप्रतिनिधिहरू भारतेन्दुकुमार मल्लिक, ओमप्रकाश सरावगी, गोविन्दचन्द्र क्षेत्री, पुष्पराज पोखरेल, भक्त खवास, फूलसिंह राजवंशी, रोहितचन्द्र राजवंशी, जीवनकुमार श्रेष्ठ, गणेशबहादुर बस्नेत, दुर्गाप्रसाद भट्टराई, कमलप्रसाद राजवंशी, शनिलाल राजवंशी रहेका छन् ।

त्यसैगरी पवनलाल माझी, गणेश ओली, भत्तिमान देवान, राजेन्द्र निरौला, सतेनचन्द्र सिंह राजवंशी, धननाथ राजवंशी, नेपाल सिंह राजवंशी, प्रदिप म्याङवो, हरि अधिकारी, भिमबहादुर थुलुङ, नरपति लिम्बु, कमानसिंह लिम्बु, शेषराज भट्टराई लगायतलाई सम्मान गरेका थिए । 

साथै उत्कृष्ट करदातामा बुधकरण टी स्टेटसहित स्वास्थ्यकर्मी, नगर प्रहरी, ज्येष्ठ नागरिक, उत्कृष्ट कृषक, सहकारी, सङ्घसंस्था, बाल सञ्जाल लगायत गरी ७१ जनालाई सम्मान गरेको जनाइएको छ ।