कला मनोरञ्जन

पूर्वबाट शुरु भयो रोशा फुयल जिताउ अभियान

झापा । गायन प्रतियोगिता सारेगामप लिटिल च्याम्प नेपालको उत्कृष्ठ ११ औं स्थानमा पुग्न सफल झापा मेचीनगर ८ की रोशा फुयललाई प्रथम बनाउने अभियान शुरु भएको छ । मेचीनगर ८ का स्थानीय युवाहरुको अगुवाईमा फुयललाई भोट गरी प्रथम बनाउन शनिबारदेखि अभियान नै सञ्चालन भएको छ ।

मेचीनगर ८ का वडा अध्यक्ष बिकेन्द्र धिमालको संयोजकत्वमा रोशा जिताऔं अभियान समेत गठन भएको छ । जसमा काँग्रेसका मेचीनगर ८ का सभापति गिरीराज धमला सहसंयोजक र एमाले मेचीनगर ८ का अध्यक्ष बिष्णु भट्टराई सचिव रहनु भएको छ । 

समितिले रोशा फुयललाई प्रथम स्थानसम्म पुर्याउनका लागि मेचीनगरको इटाभट्टा चोकमा अभियानको सम्पर्क केन्द्र समेत स्थापना गरेको छ । जसबाट फुयललाई भोट गर्न आम सर्बसाधारणलाई अपिल गरिनेछ ।

निक्कै मेहनत र स्थानीयहरुको साथले छोरीले उत्कृष्ट गायन प्रस्तुति दिइरहेको रोशाका बुवा गोपीनाथ फुयलले बताउनु भयो । वहाँले भन्नुभयो, ‘सबैको साथ भयो भने छोरीले प्रथम स्थान हालिस गर्छे ।’

मेचीनगरकै सानका रुपमा रहेकी रोशालाई भोट गरी उत्कृष्ट स्थानमा पुर्याउन सबैले सहयोग गर्न रोशा जिताऔं अभियानका सहसंयोजक गिरीराज धमलाले अपिल गर्नु भएको छ । खारिएको गायनकला प्रस्तुत गरिरहनु भएकी मेचीनगरकी छोरी रोशालाई सबै मिलेर जिताउन सहयोग गर्नु पर्ने समितिका सचिव बिष्णु भट्टराईले बताउनु भयो ।


रोशालाई भोट गर्न सोमबार मध्यान्य १२ बजेसम्म मोबाइल मार्फत मेसेज बक्समा गएर SGMP टाइप गरी एक स्पेट छोडेर १३ टाइप गरी ३३००१ मा सेन्ट गर्नु पर्ने हुन्छ । त्यस्तै अनलाईन भोटिङका लागि MOMO भोटिङ एप डाउनलोड गरी एक जनाले एक पटकमा एक हजारसम्मको भोट गर्न सकिनेछ । त्यसैगरी momoappnepal.com बाट पनि भोट गर्न सकिन्छ ।