झापा, चैत ३ । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन मेचीनगर नगरपालिकाले सचेतनाका लागि स्थानीय संघ संस्थाहरु मार्फत स्वयम सेवक परिचालन गर्ने भएको छ ।

आईतवार नगरपालिकामा सम्पन्न मेचीनगरका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुसंगको सहभागितामा स्वयम सेवक परिचालन समिति गठन भएको छ ।
अहिले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १ सय ५७ देशमा पुगेको छ । चीनको वुहानबाट फैलिएको यो भाइरस अहिले १ लाख ६९ हजार भन्दा बढी मानिसमा यसको संक्रमण देखिदा ज्यान गुमाउनेको संख्या ६५ सय १५ पुगेको छ ।
छिमेकी देश भारतमा पनि यसको संक्रमण देखा परे पछि संवेदन शिल क्षेत्रको रुपमा रहेको मेचीनगर स्थित काँकरभिट्टा नाकामा मेचीनगरले थप सतर्कता अपनाउन साथै जोखिम न्यूनिकरण गर्न स्थानिय संघसंस्थाहरु संग सहकार्य गरी सचेतना तथा चेकजाच कार्य अगाडी बढाएको हो ।
मेचीनगरका बिभिन्न संस्थाका अध्यक्षहरु सम्मिलित समितिमा मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, रोटरी क्लब अफ काकरभिट्टाका अध्यक्ष मोहन निरौला, मेचीनगर रेडक्रस सोसाइटी उपशाखाका अध्यक्ष कुसुम कोइराला, नाटा मेचीनगरका अध्यक्ष भुपालराज श्रेष्ठ रहनु भएको छ । त्यस्तै समितिमा धुलाबारी जेसीजका अध्यक्ष सागर खनाल, मेचीनगर लेडि जेसीजका अध्यक्ष तुलशा दंगाल, बाहुनडाँगी जेसीजका अध्यक्ष सागर कार्की र चारआली जेसीजका अध्यक्ष दिपेन्द्र निरौला रहनु भएको मेचीनगर सामाजिक बिकास शाखाले जनाएको छ ।
समितिले मेचीनगरका बिभिन्न संघ संस्थालाई कोभिड १९ बिरुद्ध सचेतना अभियान फैलाउन अनुरोध गर्ने निर्णय गरिएको मेचीनगरका सामाजिक बिकास शाखा प्रमुख अनन्त प्रकाश वस्तीले बताउनु भयो ।