झापा । रोटरी क्लब अफ काँकरभिट्टाले झापाको मेचीनगर—४ स्थित पशुपति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शुद्ध पिउने पानीको व्यवस्थापन गरिदिएको छ ।
विद्यालयमा पिउने पानीको अभाव हुँदा विद्यार्थीहरुले टन्टलापुर घामामा पनि अन्यत्रै गएर ट्युवेलको पानी पिएर तिर्खा मेट्न बाँध्य थिए । तर, अब त्यो समस्याबाट विद्यालय मुक्त भएको छ । विद्यालय परिसरमा रोटरी क्लब अफ काँकरभिट्टाद्वारा नवनिर्मित शुद्ध पिउने पानी परियोजना आइतबार सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेपछि यो समस्याबाट विद्यालयले मुक्ती पाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका वडानम्बर—४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की र रोटरी क्लब अफ काँकरभिट्टाका सन् २०२२/२०२३ का अध्यक्ष सुजन प्रधानले संयुक्तरुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेनुका बराल र प्रधानध्यापक लक्ष्मण प्रधानलाई धाराको साँचो हस्तान्तरण गरे ।
रोटरीले विद्यालयमा खानेपानी परियोजना सम्पन्न गरी हस्तान्तरण गरेर यहाँको ठूलो समस्या समाधान भएकोमा विद्यालयका प्रधानध्यापक लक्ष्मण प्रधानले बताए ।
कक्षा १० सम्म पढाई हुने यस विद्यालयमा २ सय ५० जना जना विद्यार्थी अध्ययनरत छन् । र यहाँ अध्ययनरत अधिकांश बालबालिकाहरु किसान र मजदुर तथा विपन्न वर्गका छोराछोरी रहेको प्रधानध्यापक प्रधानको भनाई छ ।
मेचीनगर नगरपालिका वडानम्बर—४ तथा रोटरी क्लब अफ काँकरभिट्टाको गरी २ लाख रुपैयाँ बढिमा परियोजना सम्पन्न भएको हो । यसअघि नगरका विभिन्न विद्यालयमा यस्तै परियोजना सम्पन्न गरी हस्तानतरण गरिएको अध्यक्ष सुजन प्रधानले जानकारी दिए ।
३ सय लिटरको स्टिलको ट्याङ्कीसहित ४ वटा धारा जडान गरिएको छ । अध्यक्ष प्रधानका अनुसार वडानम्बर ६ मा रहेको काँकरभिट्टा मावि, वडानम्बर ७ मा रहेको श्रीकृष्ण प्राविमा र ८ को बालकल्याण माविमा समेत शुद्ध पिउने पानी परियोजना सम्बन्धित विद्यालयलाई हस्तान्तरण भइसकेको बताए ।
कार्यक्रममा बोल्दैं प्रमुख अतिथि वडाध्यक्ष कार्कीले रोटरीले विश्व शान्ति, खानेपानी र सरसफाई, आधारभूत शिक्षा, विभिन्न रोगको उपचार तथा रोकथाम, आमा र नवजात शिशुको स्वास्थ्य उपचार, समुदायमा आधारित आर्थिक विकासका क्षेत्रमा पुर्याएको योगदानको सबैले कदर गरेको बताए । रोटरीले यसअघि पनि विभिन्न विद्यालयमा रचनात्मक कार्य गरेको भन्दैं वडाध्यक्ष कार्कीले आगामी दिनमा समेत यस्ता कार्यले निरन्तरता पाउनेमा आफुहरु विश्वस्त रहेको बताए ।
रोटरी क्लब अफ काँकरभिट्टाका एडमिन चियर उदयकुमार श्रेष्ठले स्वागत गरेको कार्यक्रममा सन् २०२२/०२३ का सचिव भगिरथ राईले सञ्चालन गर्नुभएको थियो ।

