संघ \संस्था

बालविवाह न्यूनीकरणमा दाङ महिला जेसीज

बाहुण्डाँगी । बंगलाचुली गाउँपालिका–४ स्थीत माध्यामिक विद्यालय भेडावारी मुलावारीमा कक्षा ९ मा अध्ययन गर्ने खेतुलाल विकलाई बाल्यकालमा विवाह गर्नुहुदैन भन्ने थाहा थियो ।

कक्षामा अध्ययन गर्दा सरहरुले पनि बालविवाह गर्नुहुदैन भनेर पढाउनुभएको थियो । तर बालविवाह गर्दा हुने असर, विवाह गराउनेलाई कारवाहीलगायतका बारेमा उनलाई थाहा थिएनन् । न उनी कहिले यस्ता कार्यक्रममा सहभागी हुने अवसर पाएका थिए । तर शुक्रवार दाङ महिला जेसीजले बंगलाचुली गाउँपालिका–४ मा रहेको माध्यामिक विद्यालय भेडावारी मुलावारीमा आयोजना गरेको बालविवाह न्यूनीकरण सम्वन्धी सचेतना मुलक कार्यक्रम सहभागी भएका खेतुलालले विवाह गर्नका लागि उपयुक्त उमेरसँगै बालविवाह गर्दा हुने असर र त्यसले भविष्यमा पार्ने समस्याका बारेमा ज्ञान प्राप्त गरेको बताए ।

‘बालविवाह न्यूनीकरण सम्वन्धी कार्यक्रमले मलगायतका धेरै विद्यार्थीहरुलाई सचेत बनाएको छ । २० बर्षपछि मात्रै विवाह गर्नुपर्छ भनेर ज्ञान दिएको छ’,कार्यक्रममा बोल्दै खेतुलालले भने,‘बालविवाह न्यूनीकरणका लागि यस्ता कार्यक्रमहरु फेरीपनि हुन आवश्यक छ ।’ खेतुलाललाई जस्तै बालविवाह न्यूनीकरण कार्यक्रमले कक्षा ९ मा अध्ययनरत बञ्चिता पुनलाई समेत सचेत बनाएको छ ।

बालविवाह गर्नुहुदैन भनेर सुन्ने गरेकी बञ्चितालाई बालविवाहले पार्ने असरका बारेमा थाहा थिएनन् । तर विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुसँगै कार्यक्रममा सहभागी भएकी उनले बालविवाह भनेको के हो रु बालविवाह गर्दा हुने पर्ने शाररीक तथा मानसिक असरसँगै कानुनी कारवार्हीको प्रक्रियाका बारेमा जान्ने अवसर प्राप्त गरेको बताइन ।

उनले आफु जस्ता बालबालिकाहरुलाई बालविवाहबाट रोक्नका लागि यस्ता कार्यक्रमहरु आगामी दिनहरुमा समेत विद्यालयमा हुन आवश्यक रहेको बताइन । खेतुलाल र बञ्चिता उदाहरणका मात्रैहरु हुन । बालविवाह न्यूनीकरण सम्वन्धी सचेतना मुलक कार्यक्रमले विद्यालयमा अध्ययनरत धेरै बालबालिकाहरुलाई सचेत बनाएको विद्यालयका प्रधानाध्यापक खगराज लम्सालले बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रधानाध्यापक लम्सालले विकास निर्माणमा पछि परेको बंगलाचलुीमा सडक, विद्युत, खानेपानीलगायतका विषयमा कुरा उठ्ने गरेपनि बालविवाहका सम्वन्धमा कमै मात्रमा कुराहरु उठ्ने गरेको बताए । पहिलेको तुलनामा अहिले बालविवाह कम भएपनि केही बालबालिकाहरुले अहिलेपनि बालविवाह गर्ने गरेको बताए । त्यस्ता बालबालिकाहरुलाई दाङ महिला जेसीजले आयोजना गरेको सचेतनाुलमक कार्यक्रमले सचेत बन्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

दाङ महिला जेसीजका अध्यक्ष शारदा घर्तीले सहरसँगै महिला जेसीजले ग्रामीण क्षेत्रहरुमा पनि सचेतनामुलक कार्यक्रम गर्ने क्रममा बंगलाचुली गाउँपालिकामा रहेको विद्यालयमा बालविवाह न्यूनीकरण सम्वन्धी कार्यक्रम गरेको बताइन ।

दाङ महिला जेसीजाका अध्यक्ष शारदा घर्तीको भएको कार्यक्रममा अधिवक्ता गोमा महरा र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी सहायक निरिक्षक दीपक थापाले बालबिबाह भनेको के हो ? बालविवाह गर्दा बालबालिकाहरुमा पर्ने शाररीक तथा मानसिक असर,बालविवाह गर्दा आइपर्ने कानुनी जटिलतालगायतका बारेमा बालबालिकाहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रम संयोजक तथा सहसचिव संगीता रोकाको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा दाङ महिला जेसीजका कानुनी सल्लाहकार अनिता ढकालले आस्थापाठ गराएकी थिइन । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खगराज लम्साल, पत्रकार छवि पुरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव नारायणी भण्डारीले गरेकी थिइन ।Edit