खेलकुद

भद्रपुर झापा गोल्ड कपमा विद्यार्थीलाई प्रवेश निःशुल्क

झापा । भद्रपुर झापा गोल्ड कप हेर्न आउँने विद्यार्थीलाई प्रवेश निःशुल्क गरिने भएको छ । गोल्ड कप आयोजक समितिका अध्यक्ष दिपेश ढकालका अनुसार नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई खेल हेर्दा शुल्क लाग्ने छैन ।

यसअघि भद्रपुर नगर क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई मात्र रंगशाला प्रवेश गर्दा शुल्क नलाग्ने घोषणा गरिएको थियो । तर, अब आयोजकले संस्थागत विद्यालयमा अध्यायनरत विद्यार्थीहरुलाई पनि प्रवेश शुल्क नलिने जनाएको छ । महासचिव जीवनकुमार श्रेष्ठका अनुसार विद्यालयले आलोपालो गरेर प्रतियोगिताका बेला विद्यार्थी पठाउनुपर्ने छ ।

सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीलाई खेलकुदसँग जोड्न सहज होस् भनेर प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ । भद्रपुर नगरपालिकामा सबै तहका गरेर ३१ वटा सामुदायिक र २९ संस्थागत विद्यालय रहेका छन् ।

यसैबीच, प्रतियोगिताका सबै खेलमा विशेष परिस्थितिका नागरिक, तथा नगरभित्रका ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकलाई पनि प्रवेश निःशुल्क गरिएको जनाएको छ ।

गोल्ड कप यहीँ फागुन ७ गतेदेखि १६ गतेसम्म भद्रपुरको मेची रंगशालामा हुँदैछ ।