काठमाडौं । तनहुँको दमौलीस्थित जिल्ला कारागारमा एक वर्षदेखि जेल जीवन विताइरहेका अभिनेता पल शाह रिहा भएका छन् । आइतबार उच्च अदालत पोखराले शाहविरुद्ध नाबालिग बलात्कार अभियोगमा दाबी नपुग्ने भन्दै सफाइ दिएपछि उनी सोमबार सम्पूर्ण प्रक्रिया पूरा गरेर कारागारबाट रिहा भएका हुन् । उनलाई साथीभाई तथा आफन्तले फूलमाला, खादा, अविर लगाएर स्वागत गरेका छन् ।

गत भदौ २१ गते नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोगको मुद्दामा शाहलाई २ वर्ष ६ महिना जेल सजाय र १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो । त्यस फैसलाविरुद्ध शाहले उच्च अदालतमा पुनरावेदन दिएका थिए । उच्चका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले नवलपुर अदालतको फैसला उल्ट्याउँदै शाहलाई सफाइ दिएको हो ।
एक नाबालिगले जबर्जस्ती करणीको आरोपमा तनहुँ प्रहरी कार्यालयमा जाहेरी दिएपछि पल २०७८ सालको फागुन १५ गते तनहुँ प्रहरीको सम्पर्कमा आएका थिए । यही दिनदेखि उनको जेल जीवन सुरु भएको थियो । संयोग के जुरेको छ भने उनी जुन मितिमा प्रहरीको सम्पर्कमा पुगेका थिए, त्यसको ठीक एक वर्ष (आज फागुन १५ गते)मा सबै मुद्धाबाट सफाइ पाएर जेलबाट छुटेका छन् ।
पलविरुद्ध जाहेरी परेको दिनमै उनी अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’को काठमाडौंमा प्रिमियर थियो । प्रहरीले पक्राउ गर्न प्रक्रिया थालेपछि उनी फिल्मको प्रिमियरमा उपस्थित भएनन् । उनी चार दिन फरार रहे । फिल्म प्रदर्शनमा आएको तीन दिनमा उनी तनहुँ प्रहरी कार्यालयको सम्पर्कमा पुगेका थिए । गत माघ ४ गते तनहुँ जिल्ला अदालतले पललाई निर्दोष ठहर गरेको थियो ।
म्यूजिक भिडियोबाट उदाएका पलले फिल्म ‘नाईं नभन्नू ल ४’बाट अभिनेताको रुपमा डेब्यू गरेका थिए । त्यसपछि उनले करिअर फर्केर हेर्नु परेन । म्यूजिक भिडियोमा एकछत्र राज गरेका उनले ‘शत्रु गते, ‘म यस्तो गीत गाउँछु’, ‘जोनी जेन्टलम्यान’, ‘वीर विक्रम २’ लगायतका फिल्ममा अभिनय गरेका छन् । कानुनी झमेलामा फस्नुअघि शाहले ‘सत्यम्’सहित केही फिल्म सम्झौता गरेका थिए ।
स्रोतका अनुसार, पल अब केही दिन परिवारसँग समय विताउने योजनामा छन् । त्यसपछि मात्र उनी म्यूजिक भिडियो र फिल्मको काममा फर्किने बताइएको छ । उनी नहुँदा म्यूजिक भिडियो लगभग कोमामा पुगेको छ । न म्यूजिक भिडियो खासै निर्माण भएका छन् न कुनैले आक्रामक भ्यूज पाएका छन् । पलको आगमनसँगै म्यूजिक भिडियो पुनः लयमा फर्किने आशा र विश्वास धेरैको छ ।

