विविध

भारतको पानीट्यांकीमा एसएसबीले कुटे नेपाली

झापा । भारतको सिमावर्ती नाका पानीट्यांकीमा नेपालबाट सौदा गर्न गएका २ नेपालीलाई विनाकारण भारतीय प्रहरीले निर्घात कुटपिट गरेको छ । मंगलबार विहान ९ः३० वजेतिर काँकरभिट्टा हुदैँ भारतिय बजार पानीट्यांकी गएका २ नेपालीलाई खोरीबारी पुलिस स्टेसन मातहत पानीट्यांकी टाउन पुलिस आउटपोष्टका प्रहरीहरुले कुटपिट गरेका हुन् ।
नेपालको सिमावर्ती भारतीय बजार पानीट्यांकीमा नेपालीहरु सौदापात गर्र्न जाने प्रचलन रहेको छ ।

अझबढी भारतको सिलिगुडि, नक्सलबाडी र पानीट्यांकी लगायतका बजारहरु नेपाली ग्राहकहरुको कारणले नै चलिरहेका छन् । यसरी भारतीय बजार जाने नेपालीहरु कहिले सिमा सुरक्षा बल (एसएसबी)को दुव्र्यवहारमा पर्छन् त कहिले भारतीय प्रहरीको अनावश्यक यातनाको शिकार हुँदै आएका छन् । यस्तै दुव्र्यवहारको घटना मंगलबार बिहान पुनः दोहोरीएको छ । झापा मेचीनगरका रोहित (नाम परिर्वतन) घरको लागि सौदा गर्न र आफ्नो साथी भरतलाई भेट्न भनी पानीट्यांकी जान्छन् । भरत नेपालमा काठको काम गर्ने मिस्त्री हुन् ।

उनलाई मृगौला सम्बन्धि समस्या भएकाले उनी पानिट्यांकी स्थित आफ्नै घरमा बस्न थालेकाले उनलाई भेट्न नेपालबाट मानिसहरु गइरहन्छन् । रोहित र उनकै बाइकमा बसेर गएका अर्का एकजना बीच पहिला भरत मिस्त्रीलाई भेट्ने र त्यसपश्चात सौदा गरी घर फर्कने सल्लाह हुन्छ । पानीट्यांकीबाट उत्तरपट्टि भरतको घर भएकाले उनीहरु त्यतै लाग्छन् । भारतीय एसएसबी पोष्ट रानीगञ्ज अगाडी उनीहरुलाई पानिट्यांकी पुलिस आउटपोष्टको बोलेरो गाडीमा सवार सिभिलमा रहेका ३ जना प्रहरीले बाइक रोक्छन ।

गाडीबाट ओर्लीएर उनीहरुलाई गाडीमा बस्न लागाइ बोलेरोको पछाडी बसेका एक प्रहरीले उनीहरुको बाइक चलाउँछन् र उनीहरुलाई पानीट्यांकी टाउन पुलिस आउटपोष्ट लिएर जान्छन् । सामान्य सोधपुछ पश्चात ति प्रहरीहरुले आफुहरुलाई बिना कारण हातपातगरेको उनीहरुको भनाइ छ । आफुहरु बिरामी साथीलाई भेट्न र घरायसी सामान खरिद गर्न आएको भनेर पटकपटक भन्दा पनि कुरै नसुनि आफुहरुलाई निर्घात कुटेको पीडित रोहित(नाम परिवर्तन)ले बताए । आफुलाई पुलिस अफिसर बताउने देवाशिस नाम गरेका पुलिसले पोष्टमा पु¥याएर छुट्टाछुट्टै ठाँउमा राखेर अनावश्यक रुपमा तस्करी र लागुऔषध बारे सोध्दै कुट्दै गरेको रोहितले बताए ।

रोहितको दुवै पाखुरामा रातो डाम बसेको छ । पाखुराको डाम देखाउँदै उनले भने ‘एउटा पाखुरामा १ सयभन्दा बढी पटक बासको लठ्ठीले कुट्यो ।’रोहितको दायाँ र बायाँ दुबै पाखुरामा निलडाम देखिएको छ । कुटपिट पश्चात करिब ३ घण्टा अध्यारो कोठामा राखेर थुनेको उनीहरुले भनाइ छ । मरणसन्न हुनेगरी कुटिएका उनीहरु उपचारका लागि क्लिनिक पुगेका छन् । करिब साढे ३ घण्टा पछि उनीहरुलाई छाडे पनि पीडितले चलाएको को २२ प ५०७० नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा राखेको छ ।

छिमेकी देशका नागरिकमाथि गरिने यसप्रकारका कुटपिटको बिषयमा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले यस्तो समस्या परराष्ट्र मन्त्रालयले मात्रै हेर्ने बताए । उनले सामान्य तरिकाले भारतीय प्रहरीलाई यसो नगर्न अनुरोधसम्म मात्रै आफुहरुले गर्नसक्ने बताए ।