समाचार

बिर्तामोडका पूर्वमेयर शिवाकोटीलाई थुनामा पठाउन आदेश

बिर्तामोड । जिल्ला अदालत झापाले बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई थुनामा पठाउन आदेश दिएको छ ।

आज जिल्ला अदालत झापाका न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीले उनलाई घरेलु कामदारको रूपमा राखिएकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा मंसिर २४ गते पक्राउ गरेको थियो ।

एक महिनासम्म अनुसन्धान गरेर जिल्ला प्रहरी कार्यालय झापाले केही दिनअघि रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय झापाले अदालतमा मुलुकी अपराध संहिता अन्तरगतको जबरजस्ती करणी सम्बन्धी कसुर र बालबालिका ऐन विपरीतको कसुरमा मुद्दा दर्ता गराएको थियो ।

अदालतले थुनछेक बयान र बहसपछि शिवोकाटीलाई थुनामा पठाउने आदेश दिएको हो । तर, अदालतले शिवाकोटीको स्वास्थ्य स्थितिलाई भने ख्याल राख्न भनेको जिल्ला प्रहरी कार्यालय झापाकी निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मेहेगी तामाङले बताइन् ।

उनले भनिन्, ‘त्यही अनुसार स्वास्थ्य उपचारका लागि उहाँलाई बीएन्डसी अस्पताल पठाइएको छ ।’