राजनीति

वर्तमान सरकार भ्रष्टाचारको चंगोलमा फसेको छ : अध्यक्ष लिङ्गदेन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्गदेनले वर्तमान सरकारलाई भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाएका छन् ।

शनिबार झापाको मेचीनगरमा आयोजित राप्रपाको पाँचौं नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले देशको शासन व्यवस्था नै भ्रष्टाचारबाट ग्रसित भएको टिप्पणी गरे । “आज देशमा सुशासन छैन, भ्रष्टाचार मौलाएको छ । देशका दुई ठुला दल नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनेको केपी ओली नेतृत्वको वर्तमान सरकारकै नेतृत्वमा ठूला घोटाला भइरहेकाे बताउँदै जनताका मुद्दा छायाँमा परेकाे लिङ्गदेनको भनाइ छ ।

पूर्व उपप्रधानमन्त्री तथा उर्जा मन्त्री समेत रहेका लिङ्गदेनले जनताले परिवर्तनको अपेक्षा राखेको तर शासकहरू जनभावना बिपरित हिँडिरहेको दाबी गरे । उनले थपे, “वर्तमान नेतृत्वले न त भ्रष्टाचार नियन्त्रण गर्न सकेको छ, न त जनताको दुःख कम गर्न ।”

त्यस्तै अध्यक्ष लिङ्गदेनले राप्रपाले मुलुकमा वैकल्पिक शक्ति बन्ने सम्भावना बोकेको उल्लेख गर्दै पार्टीलाई सङ्गठित र जनमुखी बनाउने अभियानमा लाग्न सबै कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा राप्रपा केन्द्रिय सदस्य खुश्बु ओलीले नेपालमा भ्रष्टचारको जालो फैलिएको बताएकी छिन् । उनले देशमा राप्रपा बाहेकका नयाँ पुराना सबै पार्टी भ्रष्टचारमा डुवेकाे बताइन् । उनले भ्रष्टाचारको चंगोलबाट देशलाई बचाउन अब सहि पार्टी र सहि नेतृत्व आवश्यक रहेको र त्यो राप्रपा पार्टी मात्रै रहेको उनको भनाइ छ ।

कार्यक्रममा राप्रपाका केन्द्रदेखि जिल्ला तथा नगर स्तरिय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष सबिना बजगाईले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन सचिव विशाल कृष्ण बास्तोलाले गरेका थिए ।

त्यस्तै पाँचौँ नगर अधिवेशनबाट चन्द्र निरौलाको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको छ ।

समितिको सदस्यहरुमा सूर्यबहादुर राई, राजननाथ वेडारी, कृष्णबहादुर खड्का, चन्द्रप्रसाद सुवेदी, पर्शुराम पराजुली, गिरीराज पौडेल, शारदा पराजुली, मनिता गिरी, धनमाया गौतम, अस्मिता खरेल, सन्तोष भट्टराई रहेका छन् ।

त्यस्तै हमनाथ बराल, भक्तिप्रसाद गौडतौला, लक्ष्मणकुमार लिम्बु, देविमाया शिवाकोटी, बासुदेव उप्रेती, कुशुम कटुवाल, गोविन्द न्यौपाने, खड्ग श्रेष्ठ र ईन्द्रबहादुर थापा सदस्यमा चयन भएका छन् ।