मेचीनगर । नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ वार्षिक साधारणसभाको अन्तिम माइन्यूट प्रमाणिकरण शुक्रबार सम्पन्न भएको छ । मेचीनगर–५ मा रहेको नकलबन्दा साकोसको ४ ओटा एकाईगत साधारणसभापछि शुक्रबार नकलबन्दा समाज विकास समितिको सभाहलमा अन्तिम माइन्यूट प्रमाणिकरण सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष केशरप्रसाद तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक होमराज गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेचीनगर ५ का वडा सदस्य तथा संस्थाकी उपाध्यक्ष माया प्याकुरेल, पूर्व अध्यक्ष मेघराज गेलाल, विष्णुप्रसाद चम्लागाई, लेखा समिति संयोजक टेकबहादुर धिमाल, कर्जा उपसमिति संयोजक इन्द्रबहादुर तामाङलगायत पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाकी उपाध्यक्ष माया प्याकुरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक महेन्द्रबहादुर कुँवरले गरेका थिए ।
संस्थाको शेयर १ करोड ९ लाख ५३ हजार ९ सय ४० रहेको छ भने ६ करोड ८३ लाख ९९ हजार २ सय ११ कर्जा लगानी गरेको छ । संस्थाको निक्षेप संकलन ७ करोड ३२ लाख ५ हजार ७ सय ५८ रहेको छ । ९ करोड १६ लाख ३५ लाख ७ सय ३२ वासलात रहेको संस्थाले १८ लाख ४५ हजार ६१ रुपैँया खुद नाफा गरेको छ ।
वि.सं. २०६४ साल माघ ६ गते स्थापना भएको संस्थाले आफ्नै भवनमा सहकारी सुपथ पसल सञ्चालनमा ल्याएको छ । संस्थाले नेपाल सरकारबाट अनुदानित रसायनिक मलखाद समेत विक्री वितरण गरिरहेको छ । संस्थाले सदस्य मृत्यु राहत सहयोग, सदस्य परिवारमा राहतसहित समवेदना, सुत्केरी पोषण कार्यक्रम, मुटु तथा मृगौला उपचार सहयोग कार्यक्रम, रेमिट्यान्स सेवा सञ्चालन गर्दै आइरहेको छ । संस्थाको आयोजना तथा विएण्डसी हस्पिटल बिर्तामोडको सहयोगमा २०९ जना सदस्यको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।