झापा । कमल केर्खा पब्लिक स्कुलमा सञ्चालित केर्खा पब्लिक स्काउट दलको प्रथम दीक्षान्त समारोह मंगलबार एक विशेष आयोजनासहित सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिका स्थानीय प्रमुख आयुक्त गुणराज गिरी रहेका थिए। सो समारोहमा कोशी प्रदेश स्काउट परिषदका सदस्य माया सिवाकोटी, प्याब्सन कमल अध्यक्ष दिपक संग्रौला, एडभान्स स्काउटर मात्रिका सुबेदी, ज्योति मा.वि.का स्काउट मास्टर जीवन दंगाल, पत्रकार उमानाथ भण्डारी लगायतको सहभागिताले स्काउट गतिविधिप्रति समुदायको चासो र सम्मान झल्किएको थियो।

कार्यक्रम केर्खा पब्लिक स्काउट दल सञ्चालन समितिका अध्यक्ष कृष्णा आचार्य (गौतम) को अध्यक्षतामा सम्पन्न भएको थियो भने समग्र कार्यक्रम सञ्चालन स्काउट मास्टर त्रिलोचन गौतमले गरेका थिए।

दीक्षान्त समारोहको मुख्य आकर्षणको रूपमा १८ जना केटा स्काउट र १४ जना केटी स्काउट गरी कुल ३२ जनालाई औपचारिक रूपमा स्काउट दीक्षा प्रदान गरियो। दीक्षित स्काउटहरूले राष्ट्रसेवा, अनुशासन, नेतृत्व र सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।

अतिथिहरूले स्काउट आन्दोलनले विद्यार्थीहरूमा नेतृत्व क्षमता, स्वअनुशासन, सिप विकास तथा राष्ट्रिय भावना मजबुत बनाउने उल्लेख गर्दै केर्खा पब्लिक स्काउट दलले गरेको योगदानको प्रशंसा गरे।

समारोह विभिन्न सांस्कृतिक प्रस्तुति, स्काउट तालिमका डेमो, सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रमसहित उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको विद्यालयले जनाएको छ।

