मेचीनगर । झापाका एक प्रतिष्ठित उद्योगी प्रदिप मित्तलविरुद्ध उजुरी परेको २४ घण्टा बित्दा पनि अझै पक्राउ परेका छैनन् । प्रहरीले पीडित पक्षको उजुरीका आधारमा अनुसन्धान अगाडि बढाए पनि उनी अझै फरार छन् ।
मित्तलले एक किशोरीमाथि अभद्र व्यवहार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय धुलाबारीमा हिजो जाहेरी दिएका थिए । व्यवसायी प्रदिप मित्तलले मेचीनगर–१४ की एक जना किशोरीलाई अभद्र व्यवहार गरेपछि किशोरी र उनका परिवारले जाहेरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनको खोजी भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका डिसएपी गुरुप्रसाद तिम्सिनाले पीडित पक्षको उजुरीका आधारमा व्यवसायी मित्तलविरुद्ध कारवाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
उद्योगी मित्तलको मेचीनगर–१४ स्थित प्रगतिटोलमा सात विगाह जमिनमा एक भेनियर (प्लाई) उद्योग सञ्चालनमा छ । उक्त जमिनमा मित्तलले पाँचतारे होटल निर्माण सुरु समेत गरेका छन् ।
घटना विवरण अनुसार ती किशोरीकी आमा भेनियरमा डोरा हाजिरामा ड्युटी गर्दै आएकी थिइन् । उनकी छोरी काठमाडौँको एक क्याम्पसमा ‘प्लसटु’ मा अध्ययनरत छिन् । केही दिनअघि उनी घर आएकी थिइन् । आमा भेनियरमा काम गर्न जाने र अपरान्ह १ मा खाजा खाने समयमा दाउराको जोहो गर्ने गर्थिन् ।
मंगलबार विहान घरबाट निश्किदा आमाले दिउँसो बोरा लिएर आउनु भनेकी थिइन् । आमाको आज्ञा पालना गर्दै ती किशोरी बोरा बोकेर दिउँसो भेनियर उद्योग परिसरमा पुगेकी थिइन् । आमालाई बोरा दिइन् र घर फर्कनै लाग्दा निर्माणाधीन पाँचतारे होटलका प्रोपाइटर (पूर्वभेनियर सञ्चालक) प्रदिप मित्तलले ती युवतीलाई जिस्क्याएका थिए ।
पटक पटक जिस्क्याएपछि ती किशोरीले उसको कुरा नसुनी घरतिर लागिन् । उद्योगी मित्तलले आफ्नो कालो रंगको कार स्टाट गरेर किशोरीलाई पछ्याउन थाले । पछ्याउँदै पछ्याउँदै किशोरीको घर नै पुगेको प्रत्यक्षदर्शीले देखेका छन् । बाटोबाट करिव पचास मिटर दूरीमा किशोरीको घर छ । व्यवसायी मित्तलले बाटोमा गाडी रोकेर पटकपटक गाडीको हर्न लगाए ।
हर्न सुनेर किशोरीका छिमेकीहरु बाटोमा निस्किएका थिए । युवती घरबाट ननिस्किएपछि उद्योगी मित्तल आफै गाडीबाट उत्रिएर किशोरीको घरतिर लाग्छन् । उक्त घटना देखेर किशोरीकी छिमेकीले भनिन्, ‘म त घरजग्गा किन्न पो आएको होला भन्ने लागेर त्यति वास्ता पनि गरिन, कुरो अर्कै रहेछ ।’
मित्तलले किशोरीको घरमै पुगेर खबरमात्रै सोधेनन् । किशोरीलाई आफुसँग नजिक बनाउन विभिन्न प्रलोभन देखाउँदै घरजग्गा, जमिन, धनसम्पतिको अवस्था समेत भन्न भ्याएका थिए । त्यहाँ किशोरीको सम्पर्क नम्बर मागेका थिए । अपरिचित व्यक्ति त्यसमा पनि उसले देखाएको गलत व्यवहारले किशोरीले आफ्नो मोवाइल नम्बर नदिएको पारिवारिक श्रोतले जनाएको छ । मोवाइल नम्बर नदिएपछि उद्योगी मित्तल बाटोमा राखेको गाडीतिर फर्कन्छन् । गाडी लिएर निमार्णाधीन फिल्डतर्फ जान्छन् ।
१० मिनेटपछि पुनः किशोरीको घरमा पुग्छन् । किशोरीसँग पुनः नम्बर माग्छन्, नदिएपछि गोजीमा हात हाल्छन् र नगद निकाल्छन् । भन्छन्, ‘तिम्रो नम्बर देउ, म यो पैसा दिन्छु ।’ त्यति गर्दापनि किशोरीले मोवाइल नम्बर नदिएपछि मित्तलले आफ्नो नम्बर लिन आग्रह गर्छन् ।
मोवाइलमा नम्बर लिने बहानामा ती किशोरीले व्यवसायी मित्तलको भिडियो सुट गरेकी छन् । युवतीको घरमा कोही नभएको थाहा पाएपछि मित्तलले युवतीलाई हातपातसमेत गरेको युवती परिवारको आरोप छ । युवतीको परिवारले इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिएको परिवारले जनाएको छ ।
जबरजस्ती करणी मुद्धामा मुछिएका उद्योगी मित्तल झापामै चिनिएका व्यक्ति हुन् । उनको लगानीमा धेरै ठाउँमा उद्योग सञ्चालनमा छ । पछिल्लो समय उनले मेचीनगरमा पाँच तारे होटल बनाउन लागेका छन् । तिनै नामुद उद्योगी मित्तल जबरजस्ती घटनामा मुछिएपछि पीडित पक्षलाई मिलाउन जस्तासुकै हर्कत गर्न लागि परिरहेको स्रोतले बताउँछ ।

