समाचार

इलामको फुङनामबासी सडक र विद्युत् अभावले कष्टकर जीवन जिउन बाध्य

युवराज आचार्य
झापा ।
इलामको चुलाचुली गाउँपालिका–६ स्थित फुङनाम बस्ती अझै पनि आधारभूत सेवासुविधाबाट वञ्चित छ। राज्य सञ्चालनमा देखिएको उपेक्षा र समन्वय अभावका कारण करिब १५० घरधुरी रहेको यो बस्तीका स्थानीयले कष्टकर जीवन बिताउन बाध्य छन्।

झापास्थित पूर्व–पश्चिम राजमार्गदेखि करिब १९ किलोमिटर उत्तरमा पर्ने यस बस्तीमा नेवारी समुदायको बाक्लो बसोबास छ। सामान्य खेतीपातीबाट जीविकोपार्जन गर्दै आएका यहाँका नागरिक सडक, विद्युत्, स्वास्थ्य, शिक्षा र सञ्चारजस्ता आधारभूत पूर्वाधारकै अभावमा छन्।

सबैभन्दा ठूलो समस्या सडकको अभाव हो। चुलाचुली–६ कै मुख्य समस्याको रूपमा रहेको सडक नहुँदा साखफारा, दशमी र फुङनाम बस्तीका स्थानीय प्रत्यक्ष मारमा परेका छन्। नागरिकता लगायतका सामान्य सरकारी कामका लागि इलाम सदरमुकाम पुग्न उनीहरूले सिधा बाटो प्रयोग गर्न पाउँदैनन्। बाध्य भएर मोरङ हुँदै झापा भएर पुनः इलाम बजार पुग्नुपर्ने अवस्था छ। यसले समय र खर्च दुवै अत्यधिक बढाएको छ।

स्थानीय यज्ञप्रसाद श्रेष्ठ भन्छन्, “हामी यहीँ पुस्तौंदेखि बस्दै आएका छौं, तर सामान्य कामका लागि पनि दिनौं लाग्ने बाटो हिँड्नुपर्छ। सडक नहुँदा हाम्रो जीवन झन् कष्टकर बनेको छ।” त्यस्तै विद्यालय अध्ययन गर्न जान आउन पनि सडक अभावले घन्टौ पैदल हिडेर जानुपर्ने बाध्यता रहेको स्थानीय राष्ट्रप्रेमी माविमा कक्षा १० मा अध्ययनरत छात्रा रोशनी राई बताउँछिन् ।

त्यस्तै, विद्युत् सेवा विस्तारमा ढिलाइ हुँदा स्थानीयको दैनिकी थप कठिन बनेको छ। वर्षौँअघि विद्युत् पोल गाडिए पनि अहिलेसम्म लाइन विस्तार र मिटर जडान हुन सकेको छैन। स्थानीय समाजसेवी भक्तराज श्रेष्ठ भन्छन्, “पोल गाडेको धेरै वर्ष भयो, तर बत्ती अझै बल्दैन। स्थानीयले सामुहिक रूपमा एकजुट भई आफ्नै लगानीमा साझ जसोतसो बत्ती बाल्ने गरेकोे छ । तर, साँझपख बत्ती बाल्न आफ्नै खर्च लाग्छ, राज्यले हेरे कै छैन।”

उनका अनुसार, दिनभरि बत्ती नहुँदा बालबालिकाको पढाइ प्रभावित भएको छ भने मोबाइल चार्ज गर्नसमेत समस्या हुने गरेको छ। स्वास्थ्य सेवा र सञ्चारमा पनि यसले असर पारेको छ।

त्यस्तै यस क्षेत्रका बासिन्दाले पटक–पटक स्थानीय तह र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए पनि ठोस काम हुन नसकेको गुनासो गर्ने गरेका छन् । “हामीलाई आश्वासन मात्रै दिइयो, काम भने अहिलेसम्म केही भएन,” स्थानीयको दुखेसो छ।

यता, चुलाचुली गाउँपालिका–६ का वडाध्यक्ष दिल कुमार राईले भने सडक र विद्युत् विस्तारमा केही प्रगति भइरहेको बताउँछन्। वडाध्यक्ष राई भन्छन्, “फुङनाम बस्ती विकट क्षेत्रमा पर्छ, त्यसैले काम गर्न चुनौती छ। तर, सडक स्तरोन्नति र विद्युत् विस्तारका लागि प्रक्रिया अघि बढाइएको छ। सम्बन्धित निकायसँग समन्वय भइरहेको छ र छिट्टै केही प्रगति देखिनेछ।”

भौगोलिक विकटता र राज्यको बेवास्ताका कारण फुङनाम बस्ती अझै विकासको मूलधारबाट टाढा छ। सडक, स्वास्थ्य र विद्युतजस्ता आधारभूत पूर्वाधारको अभावले यहाँका बासिन्दाको दैनिकी कष्टकर बनेको छ। सम्बन्धित निकायले समयमै चासो नदिए यस क्षेत्रको विकास अझै वर्षौँ पछि धकेलिने देखिन्छ।