खेलकुद

धुलाबारी फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनलमा

झापा । नकलबन्दामा जारी तेस्रो नकलबन्दा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा धुलाबारी फुटबल ट्रेनिङ सेन्टरले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

शुक्रबार सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक खेलमा धुलाबारीले पूर्वेली युवा क्लब बिर्तामोडलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।

निर्धारित ७० मिनेटको खेलमा दुवै टोलीले बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरमार्फत गरिएको थियो । दबाबपूर्ण पेनाल्टीमा धुलाबारीका खेलाडीहरू आत्मविश्वासका साथ प्रस्तुत भए । धुलाबारीका लागि अरुण मेचे, सिमन थापा, राजु दर्जी, निरोज अली र सञ्जोक भुजेलले सफल प्रहार गर्दै टोलीलाई जित दिलाए ।

यता पूर्वेली युवा क्लबका तर्फबाट पवन बास्के, युवेश तामाङ र प्रशान्त लक्समले गोल गरे पनि दिवस गुरुङको महत्वपूर्ण प्रहार धुलाबारीका गोलरक्षक देवान भुजेलले उत्कृष्ट बचाउ गर्दै खेलको मोड परिवर्तन गरेका थिए ।

खेलको म्यान अफ दि म्याच धुलाबारीका गोलरक्षक देवान भुजेल घोषित भए । उनले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाउनुका साथै नगद रु. १ हजार ५ सयसहित ट्रफी प्राप्त गरे ।
भोलिको खेल डिएफसी बाहुनडाँगी र पूर्णिमा युवा क्लब भद्रपुरबीच प्रतिस्पर्धा हुने आयोजक नकलबन्दा स्पोर्टिङ क्लबले जनाएको छ । उक्त खेल पनि निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीहरूमा आयोजक नकलबन्दा स्पोर्टिङ क्लब, ब्रदर्स एफसी दमक, पूर्णिमा युवा क्लब भद्रपुर, पूर्वेली युवा क्लब बिर्तामोड, शनिश्चरे युवा क्लब, धुलाबारी फुटबल ट्रेनिङ सेन्टर, डिएफसी बाहुनडाँगी, नेक्ष्ट जेनेरेशन फुटबल क्लब र आदर्श युवा क्लब बुधबारे रहेका छन् ।

प्रतियोगिताको विजेताले नगद रु. १ लाख १ हजारसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु. ५१ हजार नगदसहित ट्रफी पाउनेछ । प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई नगद रु. १,५०० प्रदान गरिनेछ । साथै बेस्ट डिफेन्डर, इमर्जिङ प्लेयर, सर्वाधिक गोलकर्ता र बेस्ट गोलरक्षकलाई जनही रु. ३,१०० पुरस्कार प्रदान गरिनेछ । आयोजकका अनुसार प्रतियोगिताको फाइनल खेल बैशाख ५ गते सम्पन्न हुनेछ ।