काठमाडौं । भारतीय चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ।
कार्डियक अरेस्टका कारण उपचारका लागि भर्ना गरिएकी भोसलेको मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा निधन भएको हो।
मुम्बई । भारतीय सुविख्यात गायिका आशा भोसलेको निधन भएको छ । आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले गायिका भोसलेको निधन भएको पुष्टि गरे ।
आशा भोसलेलाई कार्डियक अरेस्ट भएपछि शनिबार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनी दशकौँसम्म गायन क्षेत्रमा सक्रिय रहिन् । उनी ९२ वर्षकी थिइन् ।
८ सेप्टेम्बर १९३३ मा महाराष्ट्रमा जन्मिएकी आशा भोसलेले मात्र ९ वर्षको उमेरदेखि नै गायन यात्रा सुरु गरेकी थिइन्। पिता दीनानाथ मंगेशकरको निधनपछि परिवारको आर्थिक जिम्मेवारी सम्हाल्न उनले दिदी लता मंगेशकरसँगै गीत गाउन र अभिनय गर्न थालेकी थिइन्। सन् १९४३ मा मराठी फिल्मबाट पार्श्व गायन सुरु गरेकी उनले १९४८ को फिल्म ‘चुनरिया’ बाट हिन्दी सिनेमामा पाइला टेकेकी थिइन्।

आफ्नो बहुमुखी प्रतिभाका कारण गजल, भजन, पप र शास्त्रीय संगीतमा जादुमयी स्वर दिएकी आशा ताईको नाममा विश्व कीर्तिमान समेत रहेको छ। सन् २०११ मा गिनीज बुक अफ वर्ल्ड रेकर्ड्सले उनलाई संगीतको इतिहासमा विश्वमै सबैभन्दा बढी स्टुडियो रेकर्डिङ गर्ने कलाकारको रूपमा मान्यता दिएको थियो।
सुविख्यात गायिका आशा भोसलेले भारतीय २० भन्दा बढी भाषा र विदेशी भाषाहरूमा समेत गरी १२ हजार भन्दा बढी गीत गाएकी छन्। ‘दम मारो दम’, ‘चुरा लिया है तुमने जो दिल को’ र ‘पिया तू अब तो आजा’ जस्ता उनका कालजयी गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्।

