खेलकुद

नेपालले सिधै ट्वान्टी २० विश्वकपको ग्लोबल छनोट खेल्ने

काठमाण्डौं, मंसीर १२ । नेपालले सन् २०२२ मा अष्ट्रेलियामा हुने ट्वान्टी २० विश्वकपको ग्लोबल छनोटमा सोझै प्रबेश पाएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीको नयाँ नियम अनुसार बरियताको शीर्ष चारभित्र रहदै नेपालले ग्लोबल क्वालिफायरमा स्थान बनाएको हो । नेपालसंगै जिम्बावे, युएई र हङकङले पनि ग्लोबल क्वालिफायर खेल्नेछन् ।

आईसीसीले २०२० को जनवरी एक तारिखसम्म बरियताका आधारमा जिम्बावे, नेपाल, यूएई र हङकङलाई अन्तिम छनोटमा समाबेश गरेको हो । २०२२ को विश्वकपमा १६ टिमको सहभागीता रहनेछ ।

आइसीसीले अफ्रिका, अमेरीका, एशिया, पूर्वी एशिया र यूरोप गरेर ११ वटा क्षेत्रीय छनोट प्रतियोगिता गर्ने छ । यो प्रतियोगीताबाट थप ८ टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन् ।

२०२२ को विश्वकपका लागि १२ टिम २०२१ को टी २० विश्वकपबाट सोझै छनोट हुनेछन । बाँकी चार टिममा दुई टिम पहिलो ग्लोबल छनोटबाट आउनेछन भने बाँकी दुई टिम २०२२ मा नै हुने दोस्रो ग्लोबल छनोटबाट आउनेछन् ।