कला धर्म संस्कृती मनोरञ्जन

सोनाम ल्होसारको अवसरमा आज प्रशान्त तामाङ बौद्धमोड आउँदै

मेचीनगर, माघ ३० । झापाको मेचीनगर–२ स्थित बौद्धमोडमा २८५७ औं सोनाम ल्होसारको अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातीप्राप्त कलाकार प्रशान्त तामाङ आउने भएका छन् ।

नेपाल तामाङ उत्थान मञ्च मेचीनगरको आयोजनामा हुन लागेको बृह्त साँस्कृतिक कार्यक्रममा ईण्डियन आईडल प्रशाान्त तामाङ सहित चर्चित गायक डम्बर नेपाली, उत्तमजंग लिम्बुलगायका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने आयोजक समितिका सचिव हेमन्त मोक्तानले जानकारी दिए ।

आज दिनको ११ बजे देखि हुने साँस्कृतिक कार्यक्रममा दिउँसो स्थानिय कलाकारहरुको पस्तुती रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार दिँउसो पनि प्रशान्त तामाङले छोटो प्रस्तुती राख्ने छन् । तर साझ ५ बजेपछि तामाङ सहित अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।

प्रवेश निःशुल्क रहेको कार्यक्रममा तामाङ जातिको कला संस्कृति झल्कने प्रस्तुती संगै विभिन्न जात जातिको झाकी प्रस्तुत हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा तामाङ समुदायका जेष्ठनागरिक बुबा आमालाई सम्मान तथा तामाङ जातिको नँया बर्ष २८५७ को क्यालेण्डर पनि विमोचन हुने आयोजक संस्था नेपाल तामाङ उत्थानमञ्च मेचिनगर, झापाका अध्यक्ष कमल गोलेले जानकारी दिए ।