कला धर्म संस्कृती

सोनाम ल्होसारको अवसरमा आज सार्वजनिक बिदा

काठमाडौं, माघ ३० । सोनाम एवं ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज (शक्रबार) विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

तामाङ समुदायले माघशुक्ल प्रतिपदाका दिन प्रत्येक वर्ष यो पर्व मनाउने गरेका छन् । पर्वमा तामाङ समुदायले कूल पूजा, प्रकृति पूजा र बुद्ध शिक्षाको स्मरण गर्नाका साथै आफन्तजन भेला भई भोजन एवं मनोरञ्जन गर्दै आपसमा खुशी आदानप्रदान गर्ने प्रचलन रहिआएको छ । यस पर्व तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशलगायत देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले आ–आफ्नै शैली र परम्पराअनुसार मनाउँदै आएको पाइन्छ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७ औँ वर्ष सुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघशुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको मानिन्छ । यस वर्ष पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । कोरोना महामारीका कारण यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर ल्होसार मनाउने तयारी छ ।