खेलकुद

टाइब्रेकरमा भाग्यमानी साबित हुँदै शिवसताक्षी फाइनलमा प्रवेश

देबु बानियाँ
धुलावारी, चैत १२ ।
टाइब्रेकर भाग्यमानी बन्दै शिवसताक्षी नगरपालिका स्पोर्टिङ क्लब धुलावारीमा जारी चौथो रोलिङ क्लब च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ ।

बिहिवार सम्पन्न दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा धाइजन चारआली फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ को गोल अन्तरले पछि पार्दै शिवसताक्षीले आयोजक रोलिङ फुटबल क्लबसँगको भेटलाई पक्का गरेको छ । यो सँगै शनिवार हुने फाइनल खेलमा उपाधीका लागि रोलिङ र शिवसताक्षीको आमनेसामने हुनेछन् ।

निर्धारित ९० मिनेटको खेलमा गोलरहित बराबरीमा खेल सकिएपछि नतिजाका लागि खेललाई सोझै टाइब्रेकरमा लगिएको थियो । जितका लागि शिवसताक्षीका जनक कोइराला, विकास लामा, सञ्जोग महर्जन र युसुफ थपलियाले गोल गरेका थिए । धाइजन चारआलीका तर्फबाट दिपेश खतिवडा र शक्ति राईले गोल गरे भने प्रशान्त लक्सम र आषिश चापागाईको बल गोलपोष्ट भन्दा बाहिर गएको थियो ।

निर्धारित खेलमा धाइजन चारआलीले पाएको दर्जनौँ मौकालाई गोलपोष्टको जाली चुमाउन नसक्दा यसै सिजनमा नव ज्योति कप विजेता बनेको धाइजन चारआलीले अर्काे उपाधी हुत्याउने लक्ष्य समाप्त भएको छ । विदेशी खेलाडी डिगोले वान भर्सेस वानमा पाएको सानदार मौकालाई सदुपायेग गर्न सकेनन् । विजय राईले प्रहार गरेको बल पोलबारमा लागेर रिबाउण्ड भयो । जमिन लक्समको प्रहारले पनि सहि दिशा मोड्न सकेन ।

एक पछि अर्काे प्रेसर खपेको शिवसताक्षीले पनि थुप्रै अवसरहरु पाए पनि गोल गर्न भने चुक्यो । शिवसताक्षीको प्रहारमा धाइजन चारआलीका गोलरक्षक अभिजित रोए बाधक बने ।

खेलको म्यान अफ द म्याच विजेता टिमका रोहन कार्की घोषित भएका आयोजक रोलिङ फुटबल क्लबका सचिव महेस खड्काले बताए । म्यान अफ द म्याच बनेका कार्कीले महेन्द्र श्रेष्ठले सौजन्य गरेको नगद ५ हजार रुपैँया प्राप्त गरे ।

प्रतियोगितामा विजेता टिमले नगद २ लाख सहित ट्रर्फी, मेडल र प्रमाण पत्र पाउनेछ भने उपविजेता हुने टिमले नगद १ लाख ट्रर्फी, मेडल र प्रमाण पत्र पाउने क्लबका अध्यक्ष नोमेम्भर नेम्बाङले बताए । खेल धुलावारी माविको मैदानमा भइरहेको छ ।