राजनीति

काँग्रेसले आफ्नो शक्ति थाहा नपाउँदा अन्य शक्तिहरू सलबलाए : सहमहामन्त्री आङ्दाम्वे

झापा । नेपाली काँग्रेस सहमहामन्त्री भिष्मराज आङ्दाम्वेले काँग्रेसले आफ्नो शक्ति थाहा नपाउँदा देशमा अन्य शक्तिहरू सलबलाएको बताएका छन् ।

मंगलबार झापाको बुद्धशान्ति गाउँपालिकामा पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री आङ्दाम्वेले काँग्रेस आफ्नै आन्तरिक द्वन्द्वमा अल्झिरहदा देशमा अहिले अन्य शक्तिले खेल्ने मौका पाएको उनको भनाइ छ ।

अहिलेको समय भनेको गफ गर्ने होइन काम गर्ने हो । तर, केही नयाँ तथा पुराना पार्टीका नेतृत्वहरूले काम भन्दा पनि गफ बढी गर्ने गरेको उनले आरोप लगाए । उनले देश बनाउने पार्टी काँग्रेस मात्रै रहेको प्रतिक्रिया दिए ।

साथै उनले अहिलेको सरकार सञ्चालनको परिपाटी कमजोर रहेको बताउँदै यसमा धेरै मेहनत गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस सहमहामन्त्री आङ्दाम्वे, केन्द्रीय सदस्य गोमा भट्टराई, जिल्ला सभापति देउकुमार थेवेलगायतले बोलेका थिए ।

कार्यक्रममा कोशी प्रदेश सदस्य शोभा श्रेष्ठ नेम्वाङ, झापा उपसभापति केशवराज पाण्डे, सचिव कृष्ण हुमागाई, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश प्रसाईंलगायतको आतिथ्यता रहेको थियो ।

काँग्रेस बुद्धशान्ति गाउँपालिका सभापति चक्र शेर्माको सभापतित्वमा आयोजना भएको कार्यक्रमको सञ्चालन सचिव मदन मगरले गरेका थिए ।