समाचार

इलाम २ उपनिर्वाचन : काँग्रेसका उम्मेदवार डम्बर खड्काले गरे मतदान

इलाम । इलाम प्रतिनिधिसभा क्षेत्र नंं २ को उपनिर्वाचनको मतदान सूरु भएको छ । विहान ७ बजे सूरु भएको मतदानका लागि मतदान केन्द्रहरुमा स्थानीयहरुको बाक्लो उपस्थीति रहेको छ । उम्मेदवारले पनि बिहानै मत खसालेर आफ्नो निर्वाचन क्षेत्र दौडाहामा लाग्न थालेका छन् ।

यसैबीच नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले पनि महेन्द्ररत्न क्याम्पसको मतदान केन्द्र क बाट मत हालेका छन् । उनले बिहान ७ बजेर ३५ मिनेटमा मत हालेकाे निर्वाचन कार्यालयले जनाएको छ । यसअघि ७ बजेर २५ मिनेटमा सोही केन्द्र बाट नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरिसकेका छन् ।

इलाम २ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेका छन् । ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । तीमध्ये ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् ।

आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन । इलाममा नेपाली काँग्रेसका डम्बर खड्का, नेकपा एमालेका सुहाङ नेम्बाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु र पहिचानवादीका तर्फबाट स्वतन्त्र उम्मेद्वार रहनु भएका डगेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा रहेको देखिन्छ । इलाम २ मा प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।